काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रमा कलह बढेको छ । अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीच टकराव बढेको हो । पदारीकारी बैठककमै अध्यक्ष दाहालले उपमहासचिव शर्मालाई पार्टी नीतिविपरित अभिव्यक्ति नदिन चेतावनी दिएका छन् ।
अध्यक्ष दाहालले उपमहासचिव शर्मालाई सार्वजनिक मञ्चमा फरक मत राखेको विषयमा सचेत गराएका छन् । पार्टीमा अन्तरसंघर्ष बढिरहेकै बेला हिजो सुरु स्थायी समिति बैठकमा दाहालले आफ्नो विचार आन्तरिक बैठकमा राखेर समाधान गर्न सकिने भन्दै सचेत गराएका हुन् ।
दाहालले जे मत छ, पार्टीभित्र राख्न उपमहासचिव शर्मालगायत नेतालाई निर्देशन दिएका छन् । पार्टीको विधि र पद्धतिभित्र सबै रहनुपर्ने र कसैले पनि बाहिर बोल्नु राम्रो नहुने उनको भनाइ थियो । उनले पार्टीभित्र विरोध गर्न भने पाइने बताएका थिए ।
अध्यक्ष दाहालले स्वार्थ समूहको उक्साहटमा नलाग्न नेताहरुलाई आग्रह गरेका छन् । कतिपय नेताहरु स्वार्थ समूहको उक्साहटमा लाग्दा पार्टीमा अन्तरविरोध भएको उनको बुझाइ छ । नेतृत्व परिवर्तन गर्ने भए महाधिवेशन गर्न उनले चुनौती थिए ।
दाहालले बैठकमा गरेको सम्बोधनमार्फत् राखेका राजनीतिक प्रस्तावमा आजदेखि स्थायी समिति बैठकमा छलफल हुने छ । आजको छलफलमा उपमहासचिव शर्माले पार्टी नेतृत्व, विधि र पद्धतिबारे सार्वजनिक रूपमा आफूले उठाएका प्रश्नबारे धारणा राख्ने तयारी गरेका छन् । उनले लामो समयदेखि नै विशेष महाधिवेशन गरी पार्टी पुनर्निर्माण, नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्रको विषय सार्वजनिक रूपमै उठाउँदै आएका छन् । ‘हेडक्वार्टर’ नजिकका नेताबाटै पार्टी फुटाउन खोजेको आरोप आफूमाथि लगाइएको उनको भनाइ छ ।
उपमहासचिव शर्माले अध्यक्ष दाहालको कार्यशैलीप्रति प्रश्न उठाएपछि माओवादीमा केन्द्रदेखि जिल्ला तहसम्म ध्रुवीकरण देखिएको छ । सार्वजनिक रूपमा पार्टी पुनर्गठन, नेतृत्वको कार्यशैलीप्रति खरो आलोचना भएपछि संस्थापन पक्षका नेता तथा कार्यकर्ताले शर्माविरुद्ध सामाजिक सञ्जालमा अभियान नै चलाएका छन् । शर्मा पक्षका नेता–कार्यकर्ताले त्यसको प्रतिवाद गरिरहेका छन् ।
आजको स्थायी समिति बैठकमा अन्य नेताहरुले पनि आ–आफ्ना विषयमा धारणा राख्ने छन् । उनीहरुले एक–अर्कोपक्षमाथि आरोप प्रत्यारोप त गर्ने तयारी गरेका छन् नै आ–आफ्ना गुनासोको पोका पनि खोल्ने छन् ।










