३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोदो दिवस मनाइयो



अ+ अ-

काठमाडौँ । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘कोदो दिवस–२०८२’ मनाइएको छ । सो अवसरमा शुक्रबार भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा भव्य रूपमा कोदो रोपेर दिवस मनाइएको हो ।

कोदोको महत्वलाई राष्ट्रियस्तरमा स्थापित गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने घोषणा गरेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ), राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स ९अनाज०को संयुक्त पहलमा कार्यक्रम आयोजना गरिएको हो ।

समारोह कृषि विभागका महानिर्देशक तथा कोदो दिवस मूल समारोह समितिका अध्यक्ष प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा एफएओ नेपालका प्रमुख केन सिमिजु, कृषि सचिवद्वय गोविन्द शर्मा र दीपक खराल, नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०का कार्यकारी निर्देशक डा कृष्णप्रसाद तिम्सिना, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, किसान नेता विजय लामा, कृषि विज्ञ, पत्रकार तथा सयौं स्थानीय कृषकको उपस्थिति थियो ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले स्वस्थ रहनका लागि हरेक नेपालीले दैनिक एक छाक कोदोको परिकार खानुपर्ने बताउनुभयो । “हामी अहिले उपचार गर्न सक्छौँ, तर हाम्रो भविष्यको सन्तति रोगी भएर जन्मिन सक्छन्,” मन्त्री अधिकारीले भने, “त्यसैले एक छाक कोदोको परिकार भान्सामा समावेश गर्नु स्वस्थ जीवनको सुनिश्चितता हो ।”

उहाँले कोदो खेतीलाई आयआर्जनसँग पनि जोड्न सकिने भएकाले यसको प्रवद्र्धनमा किसान, नीति निर्माता र सरोकारवाला एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष सञ्जेलले सरकारले कोदोलाई रणनीतिक बालीका रूपमा प्राथमिकता दिँदै दिवसको घोषणा गरेको बताउनुभयो । उहाँले कोदो प्रवद्र्धनमा सक्रिय भूमिका खेलेकोमा अनाज र राष्ट्रिय कृषक समूह महासङ्घलाई धन्यवाद दिनुभयो ।

रैथाने बाली विज्ञ तथा मन्त्रालयका सह–सचिव डा रामकृष्ण श्रेष्ठले कोदोलाई जलवायु परिवर्तन–अनुकूल टिकाउ बालीका रूपमा प्रवद्र्धन गर्नु सरकारको ऐतिहासिक र दूरदर्शी निर्णय भएको बताउनुभयो । कोदो खाद्य सुरक्षाको आधार, पोषणको स्रोत र पर्यावरणमैत्री खेतीका हिसाबले पनि विशेष महत्व राख्ने उहाँको कथन छ ।

कृषि सचिव शर्माले कोदोलाई हेपिएको बालीका रूपमा लिने मानसिकता रहेको भए पनि पछिल्लो समय यसको पोषणीय, पर्यावरणीय र आर्थिक मूल्यबारे जनचेतना बढ्दै गएको बताउनुभयो । “विश्वमै कोदो अब सर्वश्रेष्ठ अन्नका रूपमा स्वीकारिन थालेको छ,” उहाँले भन्नुभयो ।

चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले पहिलो राष्ट्रिय कोदो दिवस आफ्नो नगरमा आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै कोदोजस्ता परम्परागत बालीलाई नगरस्तरबाटै प्राथमिकता दिइने प्रतिबद्धता जनाउनुभयो ।

नार्कका कार्यकारी निर्देशक डा तिम्सिनाले कोदोको माग दिनप्रतिदिन बढिरहेको जनाउँदै बालीचक्रमा कोदोलाई समावेश गर्दै जानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा एफएओ नेपाल तथा भुटानका प्रमुख केन शिमिजुले कोदो बाली प्रवद्र्धनका लागि एफएओको सहयोग निरन्तर जारी रहेको बताउनुभयो । “सन् २०२३ मा संयुक्त राष्ट्रसङ्घले कोदोलाई अन्तरराष्ट्रिय बालीका रूपमा घोषणा गरेपछि हामी थप प्राथमिकताका साथ यसबारे काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो “नेपाल सरकारले कोदो दिवस घोषणा गर्नु खुशीको कुरा हो । एफएओले आगामी दिनमा पनि सहयोग र साथ निरन्तर दिनेछ ।”

स्थानीय कृषक तथा राष्ट्रिय कृषक समूह महासङ्घका बागमती प्रदेश अध्यक्ष लामाले पहिले हेपिएको कोदो अहिले धनी वर्गले खोजी खोजी खाने बालीमा परिणत भएको उल्लेख गर्दै चाँगुनारायण क्षेत्रमा यसको खेती घट्दै गएकाले पुन: प्राथमिकतामा राखेर खेती विस्तार गरिने बताउनुभयो ।

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालमा दुई लाख २४ हजार ९३५ हेक्टर क्षेत्रफलमा कोदो खेती गरी तीन लाख ७३२ मेट्रिकटन उत्पादन भएको छ ।

तथापि प्रति हेक्टर उत्पादकत्व भने एक दशमलव ३३ मेट्रिकटनमा सीमित छ । विज्ञका अनुसार सिँचाइ, उन्नत बीउ र प्रविधिको प्रयोगसँगै जनचेतना अभिवृद्धि गरिएमा कोदोको उत्पादन र उपयोग दुबैमा उल्लेखनीय वृद्धि सम्भव छ ।

आत्मनिर्भरताको हिसाबले कोदोको अवस्था चिन्ताजनक छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालले करिब ७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८ हजार ३१६ मेट्रिकटन कोदोजन्य उत्पादन आयात गरेको छ भने निर्यात जम्मा ७० मेट्रिकटन मात्र भएको छ । रासस