काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् फेरबदलको तयारी गर्नुभएको छ । मन्त्री फेर्ने विषयमा प्रधानमन्त्री ओलीले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुहुने भएको हो ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच हुने भनिएको छलफलको समय निर्धारण भइसकेको छैन । सम्भवत: दिउँसो आज छलफल हुने बताइएको छ ।
अहिले सरकारमा रहेका धेरै जसो मन्त्रीको कार्यसम्पादनप्रति प्रधानमन्त्री ओली सन्तुष्ट हुनुहुन्न । यसअघि नै उहाँले केही मन्त्री फेर्ने कसरत गर्नुभएको थियो । तर कांग्रेस सभापति देउवाको अनिच्छाले मन्त्रिपरिषद् हेरफेर भएको थिएन ।
प्रधानमन्त्री ओलीले आफ्नो दल एमालेका कतिपय मन्त्रीसहित कांग्रेस र लोसपाका मन्त्री हेरफेरको मनस्थिति बनाउनुभएको छ । यही एजेन्डासहित उहाँले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न लाग्नुभएको हो ।
औसतभन्दा कमजोर कार्यसम्पादन, विवादका शृंखला, सत्ता साझेदारका सरोकार, अनि आफ्नै दलभित्र पछिल्ला दिनमा देखिएको गुटगत चलखेलका आधारमा प्रधानमन्त्री मन्त्री फेर्नु हुने छ ।
प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत केही मन्त्री परिवर्तन गर्नुहुने छैन । बाँकी मन्त्रीप्रति भने फेरिन सक्ने स्रोतको दाबी छ ।










