काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले दुईपटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राख्नुहोला भन्ने कल्पनै गर्न नसकिने बताएका छन् ।
बुधबार जिफन्टको १२ औं प्रतिनिधि परिषद् बैठकमा महासचिव पोखरेलले नेपालको राजनीति र ट्रेड युनियन आन्दोलन विषयमा एकघण्टा लामो प्रशिक्षण दिने क्रममा उनले यस्तो बताएका हुन् ।
राष्ट्रपति बनाउने समयमै उमेर र क्रियाशीलका हिसाबले विद्यादेवी भण्डारी उपयुक्त नहुने आफूले कुरा राखेको पनि महासचिव पोखरेलले बताए । विद्या भण्डारीको निवासमै गएर आफूले तपाईले इच्छा नगर्दा राम्रो हुने सल्लाह समेत दिएको तर पार्टीले निर्णय गरेपछि सबैले सर्वसम्मत राष्ट्रपति बनाएको महासचिव पोखरेलको दाबी छ ।
‘विरोधका बावजुद पार्टीले निर्णय गर्यो र दुइ कार्यकाल राष्ट्रपतिको कार्यकाल पुरा गर्नुभएपछि अब उहाँ राजनीतिमा फर्किनुहोला भन्ने लागेकै थिएन । तर उहाँमा त्यो धैर्यता देखिएन ।’ उनले भने ।
‘पार्टीको नवौं केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार उहाँ(विद्या) सम्मानित भएर बस्नुपर्छ भन्ने छ । पार्टीको दृष्टिकोण त्यही हो उहाँले पार्टीको नीति र निर्णलाई मनन गर्नुहुनेछ । पार्टी पद्धतीको पालना गर्नुहुनेछ ।’ महासचिव पोखरेलले भने ।
पार्टी नेतृत्वमा दुई कार्यकालको विषय पार्टीको प्रतिष्ठालाई कमजोर बनाउनेगरी अनावश्यक, भ्रमपूर्ण र तथ्यहिन भएको उनले बताए । त्यस्तै ७० वर्ष उमेरको हद लोकतान्त्रिक मूलयमान्ताको विषेशता विपरित नभएको उनको भनाई छ ।
कस्तो पार्टी हुने भन्ने मदन भण्डारीको विचारलाई स्मरण गर्दै नेतृत्व रहस्यमय र अलौकि पात्र जस्तो हुनुहुँदैन जनताबाट अनुमोदित हुनुपर्छ भन्ने उनले धारणा व्यक्त गरे ।
‘पहलकदमी, प्रतिष्पर्धाको नीतिलाई हामी अवलम्बन गरेका छौं, पार्टीको लोकतान्त्रिकरणको मुल थ्रस्टबाट पार्टी तलमाथि भएको छैन’ । उनले भने ‘महाधिवेशनमा उम्मेदवार बन्ने सबैको अधिकार सुरक्षित छ तर जनमतबाट नेतृत्व छान्ने अधिकार प्रतिनिधिहरुमा हुन्छ ।’










