१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीका मुख्यमन्त्री लामाले गरे तीन मन्त्री नियुक्त



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको हैसियत गुमाइसकेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् । लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।

लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ ।

बागमतीमा कांग्रेसले सम्हालेका पाँच मन्त्रालय मन्त्री विहीन थिए । गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेकाले अझै युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिवी निवारण मन्त्रालय नेतृत्वविहीन छन् ।

यही साउन ९ गते चार जना र १३ गते १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

बागमती प्रदेश नेपाली कांग्रेसमा आजै संसदीय दलको नेता चयन गरिँदै छ ।

मुख्यमन्त्री समेत रहेका लामालाई अविश्वासको प्रस्ताव गरेर हटाएपछि आज नयाँ नेता चयन गर्न लागिएको छ ।

लामाविरुद्धको अविश्वासको प्रस्तावको टुंगो मंगलबार लागेको थियो । अविश्वासको प्रस्तावको पक्षमा ३७ मध्ये २२ मत परेको थियो भने लामाको पक्षमा १५ मत परेको थियो ।

अविश्वास प्रस्ताव बहुमतले पारित भएपछि लामाले दलको नेताको हैसियत गुमाएका थिए ।

नयाँ नेता चयन गर्न कांग्रेस बागमती प्रदेशले हिजै निर्वाचन समिति गठन गरेको थियो । हरिशरण श्रेष्ठको संयोजकत्वमा गठित समितिले आज बुधबार नै चुनाव गराउन लागेको हो ।

संयोजक श्रेष्ठले निर्वाचन कार्यतालिका सार्वजनकि गरेका छन् । निर्वाचन कार्यतालिका अनुसार दिउँसो २ देखि ३ बजेसम्म मतादान हुनेछ । मतदान संसदीय दलको कार्यालय परिसरमै हुनेछ ।

त्यसअघि बिहान ८ बजे मतदाता नामावली प्रकाशन, १० देखि ११ बजे उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

दलको नेताका लागि बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव गर्ने सांसदहरुको पक्षबाछ इन्द्रबहादुर बानियाँ उम्मेदवार हुनेछन् । लामाको पक्षबाट उनी आफैं हुने वा अरुलाई उठाउने भन्ने टुंगो छैन ।

अविश्वासको प्रस्ताव गर्ने सांसदहरूले बानियाँलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् । तर, दलको नेता गुमाए पनि लामाले मुख्यमन्त्री नछोड्ने बताएका छन् ।