९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

विभेद र छुवाछूतको स्वरुप बदलिएको छः उपाध्यक्ष सोब

विभेद र छुवाछूतको स्वरुप बदलिएको छः उपाध्यक्ष सोब
अ अ+ अ-

काठमाडौँ । दलित महिला सङ्घ (फेडो) को संस्थापक अध्यक्ष दुर्गा सोब हाल नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का उपाध्यक्ष हुनुहुन्छ । उपाध्यक्ष सोबले दलित महिलाको आर्थिक, सामाजिक र राजनीतिक अधिकारका निम्ति ३१ वर्ष अघि फेडो स्थापना गर्नुभएको थियो । उहाँ हाल सो संस्थाको संरक्षक हुनुहुन्छ । दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत समस्या, समग्र दलित महिलाको अवस्था, सरकार र संसद्मा दलित महिलाको प्रतिनिधि र दलित महिलाको संवैधानिक अधिकार तथा कार्यान्वनको अवस्थालगायतका समसामयिक विषयमा राससका समाचारदाता सुशील दर्नालले उपाध्यक्ष सोबसँग गर्नुभएको कुराकानीको सम्पादित अंशः

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

म एउटा सामाजिक र राजनीतिक अभियन्ता हुँ । अहिले राजनीतिमै व्यस्त छु । अलिकति वैकल्पिक, अग्रगामी बाटोमा देशलाई लैजानुपर्छ भन्नेमा मेरो सोच छ । देशमा विकास, समृद्धि र सुशासनका मुद्दालाई लिएर राजनीतिमा सक्रिय छु । अर्को, जात व्यवस्थाका कारण एउटा सिङ्गो दलित समुदाय हरेक क्षेत्रमा पछाडि परेको छ । त्यसभित्र पनि लैङ्गिक विभेदमा परेका दलित महिलाको अवस्था हरेक हिसाबले कमजोर छ । विगत ३०÷३५ वर्षदेखि उनीहरुको उत्थानका निम्ति काम गर्दै आएकी छु ।

तपाईंले स्थापना गर्नुभएको संस्था फेडोले ३१ वर्ष पूरा गरेको छ, यो अवधिलाई कसरी समीक्षा गर्नुहुन्छ?

जतिबेला हामीले यो संस्थाको स्थापना गरेका थियौँ, त्यतिबेला देशमा भर्खरै प्रजातन्त्र पुनर्बहाली भएको थियो । हाम्रो देश हिमाल, पहाड, तराई र विभिन्न जातजाति, धर्म भएको देश हो । प्रजातन्त्रको पुनर्बहाली भएपछि सबै सीमान्तकृत सुमदाय आफ्नो हक अधिकारका निम्ति गोलबन्द हुन थालेका थिए । दलित, मधेशी, आदिवासी÷जनजाति र महिलाहरु आफ्नो अधिकारका निम्ति सङ्गठित भए । तर, दलित र महिला आन्दोलनले जातीय, लैङ्गिक विभेदमा परेका दलित महिलाको विषयलाई उठाउन सकेन । त्यतिबेलाको अवस्थामा दोहोरो, तेहोरो शोषणमा परेका दलित महिलाका निम्ति काम गर्ने छुट्टै संस्थाको आवश्यकता महसुस गरी फेडोको स्थापना गरिएको हो । तर, त्यतिबेला धेरै कारणले संस्था खोल्ने कुरा सहज थिएन । विकासका क्षेत्रमा काम गर्ने सङ्घसंस्था पनि थिएनन् । हामीसँग कुनै ज्ञान, सीप वा क्षमता पनि थिएन । अन्योलताको बाबजुद यो संस्था खोलेर दलित महिलालाई सङ्गठित गरिएको हो । त्यतिबेला र अहिले धेरै फरक भइसकेको छ । देशको राजनीतिक व्यवस्था परिवर्तन भएको छ । विज्ञान प्रविधिको विकास भएको छ । हामी ‘डिजिटल’ युगमा आइसकेका छौँ ।

जातीय भेदभाव तथा छुवाछूतका घटनामा कमी आएको हो ?

जातीय भेदभाव तथा छुवाछूतमा खासै परिवर्तन आएको छैन, खाली स्वरुप मात्र बदलिएको हो । त्यतिबेला घरघरमा खानेपानीको धारा थिएन । सबैले एउटै कुवाको पानी खानु पथ्र्यो । कुवामै विभेद गरिन्थ्यो । बरु त्यतिबेला दलितहरु मारिँदैन थिए । तर, अहिले जातीय भेदभाव तथा छुवाछूतको घटनामा धेरै दलित मारिएका छन् । पानी छोएको, चुल्हो छोएको वा अन्तरजातीय विवाह गरेका कारण दलित मारिनु परेको छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइसक्दा पनि राज्यको नीति निर्माण तहमा दलितहरु पुग्न सकेका छैनन् । यसको एउटै कारण जातीय भेदभाव तथा छुवाछूत नै हो । समय परिवर्तन भयो, तर मान्छेको सोच परिवर्तन हुन सकेन । जहाँ प्रत्यक्ष विभेद हुन्छ, त्यहाँ प्रतिकार हुने भएकाले अहिले मनोवैज्ञानिक रुपमा विभेद गरिन्छ ।

दलित महिलाको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ?

विगत ३०÷३१ वर्षको अवस्था र अहिलेको अवस्थामा फरक छ । दलित महिलाको हकमा जेजति उपलब्धि भएका छन् । त्यो विगत ३०÷४० वर्षदेखिको निरन्तर सङ्घर्षको प्रतिफल हो । अहिले प्रत्येक वडामा एक जना दलित महिलाको प्रतिनिधित्व छ । सङ्घीय संसद्मा पनि आठ जना दलित महिलाको प्रतिनिधित्व छ । प्रदेशमा केही न केही दलित महिलाको प्रतिनिधित्व छ । तर, यो नै पर्याप्त होइन । दलित महिलाको जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुन सकेको छैन । अहिले दलितभित्र दलित महिलाको कुरा उठ्दैन । महिलाभित्र पनि दलित महिलाको कुरा उठ्दैन । त्यसकारण उपलब्धिलाई बचाउँदै थप अधिकारका लागि एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्छ । देशैभरिका दलित महिला सशक्त भएका छन् । आर्थिक रुपमा बलियो हुनुपर्छ भन्ने जागुरुकता दलित महिलामा आएको छ । अधिकारका निम्ति सङ्घर्ष गर्नुपर्छ भन्ने चेतनाको विकास भएको छ ।

सङ्घीय संसद्मा दलित महिलाको प्रतिनिधित्व बढाउन के गर्नुपर्छ ?

पहिलो कुरा, दलित समुदायबारे संवैधानिक व्यवस्थालाई एकीकृत कानून बनाएर कार्यान्वयन गर्नुपर्छ । जसरी प्रत्येक वडामा एक जना दलित महिलाको प्रतिनिधित्वलाई बाध्यकारी बनाइएको छ, त्यसरी नै राज्यका अन्य निकायमा पनि दलित महिलाको प्रतिनिधित्व बढाउन कानुनी रुपमा बाध्यकारी व्यवस्था गर्नुपर्छ । ३३ प्रतिशतभित्र पनि दलित महिलाको प्रतिनिधित्व हुनुप¥यो । महिलाले पाउने ३३ प्रतिशतलाई १०० प्रतिशत मानेर त्यसभित्र दलित महिलाको जनसङ्ख्याका आधारमा प्रतिनिधित्व गराउनुपर्छ । त्यसरी राज्यका सबै संरचनामा दलित महिलाको जनसङ्ख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ ।

सरकारमा अहिलेसम्म दलित महिलाको प्रतिनिधित्व किन नभएको होला ?

दलित महिला अहिलेसम्म क्याबिनेट मन्त्री भएका छैनन् । सरकारमा दलित महिलाको सहभागिता हेर्दा २०६६ सालमा दलित महिलाबाट पहिलोपटक कलावती पासवान भौतिक पूर्वाधार तथा निर्माण सहायकमन्त्री बन्नुभएको थियो । त्यसपछि २०६८ सालमा रजनी राम (राज्यमन्त्री), धनमाया विक (राज्यमन्त्री), विमला विक (राज्यमन्त्री), आशा विक (राज्यमन्त्री), सुशीला श्रीपाली ठकुरी (राज्यमन्त्री) र रुपा विक (राज्यमन्त्री) बन्नुभएको छ । त्यसकारण मन्त्रिपरिषद्मा दलित महिलालाई ल्याउन कानुनी व्यवस्था हुनुपर्छ । अर्को कुरा, सबै पार्टीहरुले दलित महिलालाई पार्टीको निर्णायक तहमा अवसर दिनुपर्छ । निर्वाचनको समयमा दलित महिलाका लागि टिकट दिनुपर्छ । सरकारमा दलित महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न मुख्य कुरा राजनीतिक दलका शीर्ष नेताको सोचमा परिवर्तन आउन जरुरी छ ।

दलित महिलाको सवालमा संविधान पूर्ण छ?

समग्र दलितको सवालमा संविधान आधा गिलास खाली र आधी गिलास भरी जस्तो छ । हामीले भएका व्यवस्थालाई कार्यान्वयनमा लैजानु पर्छ । संविधानमा एकदमै राम्रा व्यवस्था छन् । त्यसमा सामाजिक सुरक्षा, सामाजिक न्याय र समानताको कुरा पनि छ । धारा ४२ र ४० मा दलितबारे व्यवस्था गरिएको छ । तर, कार्यान्वयन हुन सकेको छैन । संविधानको धारा १६, १८ र ४२ लाई कार्यान्वयन गर्न सकेको खण्डमा दलित महिलाका केही विषय पूरा हुन्छ । त्यसकारण दलित महिलाको सवालमा संविधानमा केही प्रावधान छन् । त्यसको पूर्णरुपमा कार्यान्वयन गर्नुपर्छ । दलित महिलाको सवालमा संविधानलाई पूर्ण बनाउन संशोधनमार्फत केही विषय समावेश गर्नुपर्ने छ । रासस