४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी र समाजवादी सरकारका गलत क्रियाकलापविरुद्ध संसदमा खरो रुपमा प्रश्तुत हुने



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले सरकारका गलत क्रियाकलापविरुद्ध संसदका बैठकहरुमा खरो रुपमा प्रश्तुत हुने भएका छन् ।

सोमवार सिंहदरबारमा भएको दुई दलका नेताहरुको भेटघाटले यस्तो निर्णय गरेको हो । भेटमा नेकपा (माओवादी केन्द्र)का  उपध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरु सहभागि हुनुहुन्थ्यो । मंगलवार बस्ने समाजवादी मोर्चाको बैठकलाई उपलब्धिमुलक र प्रभावकारी बनाउन आवश्यक रणनीतिबारे दुई पार्टीका नेताहरुबीच छलफल भएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिनुभयो । संसदमा विचाराधीन रहेका विधेयकहरू, विशेषगरी शिक्षासम्बन्धी विधेयक र संघीय निजामति विधेयकमाथि भएको षड्यन्त्रबारे समेत गम्भीर छलफल भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भोलि समाजवादी मोर्चाको बैठक छ । मोर्चाको बैठकलाई कसरी उपब्लब्धीमुलक बनाउने ? सफल बनाउने भन्ने मुख्य विषयमा आज हामीले छलफल गर्यौं । त्यसपछि अहिले संसदमा विभिन्न विचाराधिन विधेयकहरु छन् । शिक्षासम्बन्धी विधेयक अड्काएर राखिएको छ । संघीय निजामति विधेयकमा षड्यन्त्र भएको छ । राष्ट्रिय सभाबाट पनि विधेयकलाई उल्ट्याउने प्रयास गरिएको छ । संसदमा खेल्नुपर्ने भूमिकाको विषय पनि छ । यी विषयमा दुवै पार्टीका माननीय सदस्यहरुले संसदको दुवै सदनमा सशक्त तरिकाले भूमिका कसरी खेल्ने भन्ने विषयमा छलफल भयो । त्यसमध्येपनि सरकारका गलत प्रवृत्तिहरुविरुद्ध संसदमा कसरी प्रश्तुत हुने भन्ने विषयमा आज छलफल भयो ।’

सरकारका नीतिगत कमजोरीहरू र गलत प्रवृत्तिका विरुद्ध खरो रुपमा प्रश्तुत हुन दुवै दलका नेताहरु सकारात्मक भएको ज्वालाको भनाइ छ ।