७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेचीनगरका दुई महिलामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि



अ+ अ-

झापा । मेचीनगर नगरपालिकाका दुई महिलामा ‘जापानिज इन्सेफलाइटिस’ सङ्क्रमण पुष्टि भएको छ । मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार वडा नं ३ की ३६ वर्षीया र वडा नं ५ की ५५ वर्षीया महिलामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित दुबै जनाको विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचार गरिएको छ । उपचारपछि भर्खरै घर फर्किएका दुबै जनाको स्वासथ्य अवस्था सामान्य रहेको शाखा प्रमुख सापकोटाले बताउनुभयो ।

जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने एक प्रकारको भाइरसजन्य रोग हो । यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्गभङ्ग बनाउनुका साथै बिरामीको मृत्युसमेत हुनसक्ने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी बताउनुहुन्छ ।

नगरमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण देखा परेपछि यसको रोकथाम र उपचारको बारेमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाराकोटी, काठमाडौँस्थित विश्व स्वास्थ्य सङ्गठनकी प्रतिनिधि डा सोनिया भगत, प्रादेशिक अस्पताल भद्रपुरकी डा सङ्गीता साह लगायतको विज्ञ टोलीले मेचीनगरका जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारीसँग छलफल गरेको नगरका प्रेस संयोजक अर्जुन कार्कीले जानकारी दिनुभएको छ ।

विज्ञ टोलीले सङ्क्रमण फैलिन नदिन समुदायमा जनचेतना अभिवृद्धिका कार्यक्रम गर्न, बिरामीको खोजी र उपचारको व्यवस्था मिलाउन सुझाव दिएको कार्कीले बताउनुभयो । छलफलमा सहभागी नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सङ्क्रमण फैलिन नदिन स्वाथ्यकर्मीलाई घर–घर पुगेर सचेतना जगाउन र सङ्क्रमितको समयमा नै स्वास्थ्य उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

सङ्क्रमणको अवस्था जटिल बनेमा प्रादेशिक अस्पताल भद्रपुरमासमेत उपचारको व्यवस्था मिलाउन आवश्यक समन्वय गरिने उपप्रमुख मीना उप्रेतीले बताउनुभयो । जापानिज इन्सेफलाइटिस सार्ने भाइरसबाट सङ्क्रमित हाँस, कुखुरा, सङ्गुर, बङ्गुर, घरपालुवा चरा, बकुल्ला आदिलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेपछि रोगको सङ्क्रमण फैलिन्छ ।

स्वास्थ्य शाखाकी प्रमुख सापकोटाका अनुसार टाउको दुख्ने, उच्च ज्वरो आउने, बेहोस हुने, घाँटीमा गाह्रो भएर सास फेर्न कठिन हुने, कम्पन हुने र पक्षघात हुने यो रोगको प्रमुख लक्षण हुन् । जापानिज इन्सेफलाइटिसबाट जोगिने सबैभन्दा राम्रो उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो । शरीर ढाक्नेगरी कपडा लगाउने र झुलभित्र सुत्ने गरेमा रोगको सङ्क्रमणको जोखिम कम हुने उहाँको भनाइ छ ।

यो रोगबाट बच्नका लागि बालबालिकालाई १२ महिनाको उमेरमा खोप लगाउनुपर्छ । यदि यो खोप लगाउन छुटेको रहेछ, भने पाँच वर्षको उमेरमा पनि खोप लगाउन सकिने उहाँले जानकारी दिनुभयो । रासस