काठमाडौं । गैरआवासीय नेपाली संघले एआई च्याटबट र कल सेन्टर स्थापना गर्ने भएको छ ।
विदेशस्थित नेपाली दूतावासहरुमा फोन नउठ्ने र समयमा नै आवश्यक जानकारी नपाइने समस्याको समाधानका लागि एआई च्याटबट र कल सेन्टर स्थापना गर्न लागिएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष महेशकुमार श्रेष्ठले केही हप्ता भित्रै पाइलट प्रोजेक्टका रुपमा यसको सुरुवात गरिने जानकारी दिएका छन ।
विदेशस्थित नेपाली दूतावासहरुमा अत्यधिक फोन कल आउने तर कर्मचारीको संख्या अत्यन्त न्यून भएका कारण फोन नउठ्ने समस्याको समाधान गर्न यस्तो व्यवस्था गरिएको हो ।
विदेशमा रहेका नेपालीहरुलाई आवश्यक पर्ने सवै किसिमका जानकारी प्रदान गर्ने उद्देश्यले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र एनआरएनएवीचको सहमति अनुसाार श्रम संसार एपमा एआई च्याटबट सिस्टम र कल सेन्टरको पूर्णता दिने काम अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
आज श्रममन्त्री र श्रम मन्त्रालयका प्राविधिक टोली समक्ष एनआरएनएको प्राविधिक टोलीले ‘डेमो’ प्रस्तुत गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार श्रम मन्त्रीसँगकोे छलफलमा यो सिष्टमलाई पाइलट प्रोजेक्टका रुपमा यूएईबाट शुरु गरी क्रमश: सवै देशमा लागू गर्दै जाने सहमति भएको छ ।
‘श्रम सञ्चार’ एपसँग एआई च्याटबट र सेल सिस्टमको पूर्णता दिएर विदेशस्थित नेपाली दूतावासहरुमा अत्यधिक फोन कल आउने तर कर्मचारीको संख्या अत्यन्त न्यून भएका कारण फोन नउठ्ने समस्याको समाधान हुने विश्वास गरिएको छ ।
त्यसैगरी यो डिजिटल सिष्टमवाट विदेशमा रहेका नेपालीहरुले टेलिमेडिसिन, हेल्थ एजुकेसन र कन्सल्टेसनलगायत नेपालीहरुले भोग्नु परेका समस्यालाई पनि सम्वोधन पनि गर्न सकिनेछ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष श्रेष्ठले यो कामका लागि सकारात्मक पहल गरेको भन्दै श्रममन्त्री शरतसिंह भण्डारी र परराष्ट्रमन्त्री आरजु राणा देउवाप्रति आभार व्यक्त गर्नुभएको छ ।










