८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँके दुर्घटना: कोरोनाको डर थियो, दुर्घटनाले ज्यान लियो



अ+ अ-

नेपालगन्ज । कोरोनाको संक्रमणबाट जोगिन भारतबाट स्वदेश फिरेका युवा अनेक हन्डर खाँदै घर पुग्ने बेला दुर्घटनामा पर्दा १२ जनाको ज्यान गएको छ । मुुलुकमा हालसम्म ८ जनाको ज्यान लिएको कोरोनालाई रोक्न जारी लकडाउनका कारण आवागमनको सहज सुविधा नहुँदा र राज्यले नागरिक सुरक्षामा पहल नगर्दा यो बीभत्स दुर्घटना भएको देखिन्छ । राज्यले बस्ने बास र जाने सुविधा दिन नसक्दा तीन दिनदेखिका भोका र अनिँदा ती युवालाई एक निजी भ्यानले क्षमताभन्दा दोब्बर संख्यामा राखेर साविकभन्दा ‘चौबर’ भाडा लिएर उनीहरूको घरतर्फ लैजाँदै थियो । 

दाङका रामकुमार पुनलाई कोरोना संक्रमणको डर थियो । भारतमा मजदुरी गर्ने उनी घर आउन चाहन्थे । ‘गाडी भाडा नभएर अलपत्र परेको’ फोनमा दाइ रमेशलाई सुनाइरहन्थे । ‘घरबाट पैसा पठाइदिन्छु, आइज भन्दा आएन,’ सोमबार भाइको शव बुझ्न आएका रमेशले भने, ‘भारतमा रेल चलेपछि गाडीभाडा खोजेर आएको रहेछ ।’ चण्डीगढमा मजदुरी गर्ने उनी साथीहरूसित सापटी मागेर आइतबार जमुनाहा नाकासम्म आइपुगेका थिए । ‘नेपाल आएपछि मलाई फोन गर्यो,’ उनले भने, ‘तर।।, घर पुग्न पाएन ।’ आइतबार राति भएको दुर्घटनामा रामकुमारले ज्यान गुमाए । उनीजस्तै संक्रमणबाट बच्न स्वदेश फर्किएका धेरैको मृत्यु भयो ।

नाकाबाट स्वदेश फर्किएका विभिन्न जिल्लाका सर्वसाधारण बोकेर बा५ख ५९९५ नम्बरको फोर्स भ्यान ९हायस० मध्यरात दाङतर्फ गइरहेको थियो । बिग्रिएर सडक किनारमा पार्किङ गरिएको सा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्कियो । प्रहरीका अनुसार घटनास्थलमै ११ जनाको ज्यान गएको थियो । गाडीमा चालकका तीन जना साथी थिए, बाँकी २९ जना घर फिर्न आतुर युवा ।

मध्यरातमा भएको दुर्घटनामा २१ जना घाइते छन् । उनीहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेका अनुसार हायसको गति तीव्र थियो । ‘बेस्सरी कुदाएर होला, गाडीभित्रै रिंगटा लाग्थ्यो, स्पिड कम गर्नुस् भन्दा मानेनन्,’ दाङ, तुलसीपुर–२, खैरीकोटका ३९ वर्षीय विष्णु गिरीले भने, ‘चालकको लापरबाहीले दुर्घटना भयो ।’ अर्का एक घाइतेका अनुसार चालकले मदिरा सेवन गरेका थिए । ‘नेपालगन्जमा खाना खान भनेर गएर चालक फर्कँदा मदिराले मात्तिएका थिए, उनको मुखबाट मदिराको गन्ध आइरहेको थियो,’ उनले भने । इलाका प्रहरी कोहलपुरका डीएसपी कुलदीप चन्दका अनुसार हायस पछाडिबाट ट्रकमुनि घुस्न पुगेको देखिन्छ ।

घाइते सल्यान सिद्धकुमाख गाउँपालिका–२ का मुकेश घर्ती भारतको सिमलामा मजदुरी गर्थे । लामो समय लकडाउन भएकाले साहूले तलब दिन छाडे । दुई महिनायता कमाइ थिएन । एकातिर कोरोनाको डर थियो, अर्कोतिर भोकै मरिने पीर । यस्तोमा दुस्ख खेप्न नसकेर घर फर्कने निधो गरे उनले । सिमलामा सँगै काम गरिरहेका ९ जनाको समूह बनाएर निस्किए । एक जनाको ३ हजार ६ सय भारतीय रुपैयाँका दरले भाडा तिरेर गाडी रिजर्भ गरे । उनीहरू सबैको कमाइ भाडा तिर्दामै सकिएकाले सीमानाका आइपुगेपछि अलपत्र परे ।

‘तीन दिनदेखि भातसमेत खाएको छैन,’ अस्पतालमा उपचार गराइरहेका उनले भने, ‘पानीकै भरमा सीमासम्म आइपुग्यौं ।’ भारतको रुपैडियास्थित बसपार्कमा आइतबार अपराह्न ल्याएर गाडीले छाडिदिएको थियो । त्यहाँ सल्यान, दाङ, रोल्पाका अरू मजदुर पनि थिए । गाडीबाट ओर्लिएपछि उनीहरूलाई भारतीय सुरक्षाकर्मीले भारततर्फ बस्न दिएनन् । उनका अनुसार लाठी देखाएर ‘अपने देश चलो’ भन्दै धपाउँदा कतिको ढाडमा सुम्ला पनि बस्यो । मुकेशलगायत २९ जनाको समूह नाकामा बसेको थियो । साँझ ६ बजेपछि नेपालगन्ज उपमहानगरपालिकाले टिपरमा राखेर सीमा वारि जमुनाहा ल्याइदिएको उनले बताए । (कान्तिपुर दैनिकमा समाचार छ )