५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाखे नाच संरक्षणमा तानसेनका युवा



अ+ अ-

तानसेन । लोप हुँदै गएको लाखे नाच संस्कृति जोगाउन तानसेनका युवा कस्सिएका छन् । केही वर्ष पहिलेसम्म मनोरञ्जन र परम्परा संरक्षणको दरिलो माध्यम बनेको लाखे नाच पुरानाहरूले बिर्सेपछि यसको संरक्षण गर्नका लागि स्थानीय युवा कस्सिएका हुन् ।

खास गरी नेवार समुदायमा प्रचलित लाखे नाच आधुनिकताको मारमा परी विलुप्त प्रायः हुन थालेपछि पाल्पाली नाट्य कला सांस्कृति समूहमा आबद्ध युवाहरु जोगाउन सक्रिय भएर लागेका छन् । लाखे नाच खास गरी घण्टाकर्णदेखि सुरु भई कृष्ण जन्माष्टमीसम्म नाच्ने परम्परा रहेको छ ।

मुखमा डरलाग्दो मुकुण्डो लगाएर दुईमध्ये एक जना लाखे र अर्को भुच्चा भएर नाचिने यो नाचमा लाखेले पछाडिपट्टि चौरी गाईको चमर र महिलाले लगाउने घाँघर, चोलो लगाउने गरेको पाइन्छ भने भुच्चाले पुरुष भेषमा पछाडिपट्टि मकैको पात वा कपडाको पुच्छर लगाउने गर्छन् ।

यहाँका युवाहरुले घण्टाकर्णकदेखि भगवती जात्रा (कष्ण जन्माष्टमी)को दिनसम्म हरेक दिन लाखे प्रदर्शन गर्ने समूहका अध्यक्ष किरण चित्रकारले बताउनुभयो । “बाबु बाजेको परम्परा विर्सिन थाल्यौं, त्यही भएर आफ्नो संस्कृति संरक्षणमा लागेका हौँ”, चित्रकारले भन्नुभयो, “लाखे नाच विस्तारै लोप हुँदै जान थालेको छ ।” अभियानस्वरुप युवाहरु लाखे जात्रामा ढोल र झ्याम्टा बजाएर आफ्नो जातिको संस्कृति र रीतिरिवाज प्रदर्शन गरिरहेका छन् ।

“अरु समुदाय माझ नेवारी संस्कृति एकदमै लोकप्रिय छ, तर नेवार समुदायले नै संरक्षण गर्न सकिरहेका छैनौँ”, चित्रकारले भन्नुभयो । लाखे संरक्षणमा अन्य जातजातीले पनि उनीहरुलाई सहयोग गरेका छन् । लाखे नाचले नयाँ तथा पुराना पुस्तालाई आकर्षित गरेको छ । तानसेनको बसपार्क, हुलाकचोक, टक्सार, शीतलपाटी, नारायणस्थान, असनटोल, वसन्तपुरलगायतका स्थानमा लाखे नाच देखाइने योजना रहेको समूहका अध्यक्ष चित्रकारले बताउनुभयो ।

केही दशकअघिसम्म नेवार समुदायमा मात्र प्रचलित लाखे नाच नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको स्थानीय राजेन्द्र गोपाल सिंह बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले तानसेनमा नेवारसहित अन्य समुदायको बसोबास रहेको छ, यसको संरक्षण गर्न इच्छुकलाई सिकाउन आवश्यक छ ।”

हरेक दिन साँझ ६ बजेदेखि तीन घण्टा लाखे नाच देखाइने छ । काठमाडौँ उपत्यकामा प्रचलित लाखे नाच पाल्पासहित अन्य स्थानमा पनि विस्तार हुने क्रममा छ । तानसेनसहित नेवार बस्ती भएका रामपुर, सराई, हार्थोक, आर्यभन्ज्याङमा पनि लाखेनाच नाचिने परम्परा रहेको छ । रासस