२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारमाथि प्रतिबन्धको चौथो वर्ष प्रवेश, गतिरोध अझै जारी



अ+ अ-

दोहा । खाडी राष्ट्र कतार र साउदी अरेबियाको अग्रसरतामा निर्मित गठबन्धनबीच बनेको तिक्ततापूर्ण शत्रुता यही शुक्रबार चौथो वर्षमा प्रवेश गर्दैछ । यी दुई पक्षबीचको असमझदारी तत्कालै टुंगिने कुनै संकेत देखिएको छैन । 

सन् २०१७ को जुन महिनामा साउदी अरेबियाका मित्रदेशहरु संयुक्त अरब इमिरेट्स (युएई), बहराइन र इजिप्टले कतारसँगको सबै सम्बन्ध एकाएक तोडेका थिए । कतारले कट्टरपन्थी इस्लामिक अभियान र इरानलाई सहयोग गरिरहेको उनीहरुको आरोप थियो, तर कतारले यी आरोपमा सत्यता नभएको भन्दै आजपर्यन्त निरन्तर खण्डन गरिरहेको छ । 

यसै वर्ष यी असमझदारी हट्ने र पूर्ववत सम्बन्ध कायम हुने संकेतहरु देखिएका भए पनि प्रगति हुन सकेको छैन ।

सन् २०१७ मे २४ मा कतारका शासकको नामबाट राज्य संचालित समाचार एजेन्सीको वेबसाइटमा एउटा वक्तव्य प्रकाशन हुन्छ । यो विज्ञप्तिमा इस्लामिक क्रान्तिलाई कतारको समर्थन रहेको तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरिएको थियो ।

उक्त विज्ञप्ति प्रकाशन भएलगत्तै कतारले सो सामग्री गलत भएको र कसैले समाचार संस्थाको साइट ह्याक गरेको जनायो । तर यो विज्ञप्तिलाई आधार बनाएर खाडी क्षेत्रका संचार माध्यमले समाचार सम्प्रेषण गरेका थिए । 

जुन ५ मा साउदी अरेबिया र यसका गठबन्धन मुलुकहरुले एकाएक कतारसँगका सबै सम्बन्ध तोडेको घोषणा गरे । 

यस घोषणामा कतारसँगको हवाई, सडक, सोझो सिपिङ र कुटनीतिक सम्बन्ध सबै तोडिएको कुरा उल्लेख थियो ।

अरु मुलुकले पनि आफ्नै किसिमले कतिपय अवस्थामा सामान्य प्रतिबन्धहरु घोषणा गरे ।

त्यसको एक दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै आफूले हालै अरब राष्ट्रहरुको भ्रमण गर्दा कतारमाथि औंला उठाएका र कट्टरपन्थी विचारधारालाई समर्थन जनाएका बताउनुभएको थियो । 

त्यही महिनाको अन्त्यतिर साउदी गठबन्धनले कतारले सुधार गर्नुपर्ने १३ बुँदे विषय सार्वजनिक गरेको थियो । ती बुँदामा अन्य कुराका अतिरिक्त अल–जजिराको दोहास्थित कार्यालय बन्द गर्नुपर्ने तथा टर्कीको सैन्य अखडा बन्द गर्नु पर्ने शर्त राखिएका थिए । 

उक्त १३ बुँदे मागपत्रमा रियादको मुख्य दुश्मन इरानसँगको सम्बन्ध कतारले तोड्न आग्रह गरिएको थियो । 

तर कतारले साउदी गठबन्धनका सबै माग अस्वीकार गरिदियो, किनभने कतारको भनाईमा यी मागहरु यथार्थपरक नभएका र कार्यरुपमा परिणत गर्न नसकिने थिए । 

यस विभाजनले क्षेत्रीय यात्रामा जटिलता उत्पन्न गर्नुका साथै परिवारहरुलाई विच्छिन्न बनाएको छ भने कतारको व्यवसायमा लागत बढाएको छ । 

दोहा विरुद्धको यस गठबन्धनले आफ्ना मागहरु अरु थप्यो । जुलाई २०१७ मा गठबन्धनले कतारसामू १८ जना शंकास्पद अतिवादी समूह र संस्थाको सूची दियो । यो सूचीमा उल्लिखित व्यक्ति तथा संस्थामाथि कानुनी कारबाही गर्न माग गरिएको थियो । पछि यो सूचीमा नाम थपेर ९० बनाइयो ।

सन् २०१७ अगष्टमा बिआउटक्यू नामको भूउपग्रहले फुटबल समेतका मुख्य कार्यक्रमहरुको साउदी दर्शकलाई ध्यान दिएर प्रसारण शुरु गरेको थियो । 

कतारस्थित खेलकुद प्रसारक बीइनले साउदीले आफ्ना सामग्री अनधिकृत रुपमा प्रसारण गरेको आरोप लगायो । बीइन र साउदीबीचको यो विवाद अझै पनि कानुनी निरुपणको विषय बनेको छ । 

सन् २०१८ भर कतार र संयुक्त अरब इमिरेट्सबीच हवाई मार्गको विषयलाई लिएर विवाद भएको थियो । यो विषय अहिले पनि अन्तर्राष्ट्रिय अदालतमा विचाराधीन छ । 

अर्को वर्ष युएईले एसियाली कप फुटबल प्रतियोगिता आयोजना गर्यो । कतार यो खेलमा विजयी भयो, तर खेल मैदान खाली थियो किनभने कतारी फुटबल खेलप्रेमीलाई युएई प्रवेशमा रोक लगाएको थियो । मैदानमा देखिएका एक जना कतारी पोशाक लगाएका बेलायती नागरिकलाई पक्राउ गरिएको थियो । 
 
राष्ट्रपति ट्रम्पले कतारप्रति केही नरम र लचक रहेको बताउनु भएको थियो । उहाँले कतारका शासक अमिर शेख तमिम बिन हमाद अल–थानीलाई अप्रिल २०१९ मा ह्वाइट हाउसमा आमन्त्रण गर्नु भएको थियो, र त्यस भेटवार्तामा अल–थानीलाई राष्ट्रपति ट्रम्पले “मित्र” भनी सम्बोधन गर्नु भएको थियो । 

अरब राष्ट्रहरुमा निकै लोकप्रिय फुटबल खेलले आपसी सदभाव बढाउन केही हदसम्म सफल रहेको थियो । कतारमा आयोजित क्षेत्रीय फुटबल प्रतियोगितामा साउदी अरेबिया, युएई र बहराइन पनि सहभागी भए । सन् २०१९ डिसेम्बर ८ मा सम्पन्न फाइनल खेलमा बहराइन विजयी भयो ।

दुई वर्षअघि यस्तै प्रतियोगितामा साउदी अरेबिया, युएई र बहराइनले कतारमा खेल्न अस्वीकार गरेका थिए, र यी देशले कुवेतमा प्रतियोगिता सारेका थिए ।