७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

वनफूलले ढाकिएका पाटन हेर्ने कास्कीको कोरी जाने कि

वनफूलले ढाकिएका पाटन हेर्ने कास्कीको कोरी जाने कि
अ+ अ-

गण्डकी । काठमाडौँ बस्ने दीपा पौडेलले यसपालि मनसुन पदयात्राका लागि कास्कीको कोरी रोज्नुभयो । पेसाले स्टाफ नर्स उहाँ गएको मध्य असारमा साथीहरुसित तीन हजार ८०० मिटर उचाइको कोरी पुग्नुभयो । पदयात्रामा उहाँसहित सात जना थिए । पोखराबाट मादी गाउँपालिका–१ सिक्लेससम्म तीन घण्टाको मोटरयात्रापछि उनीहरु छ घण्टा हिँडेर तस पुगे । त्यस दिन तसमै रात काटे । भोलिपल्ट त्यहाँबाट पैदल सात घण्टामा कोरी पुगे । कोरीको सौन्दर्यबारे देखे सुनेर लालयीत बनेका उनीहरुले कोरी घुमघामका लागि मनसुन याम नै किन रोजे त रु पौडेल भन्नुहुन्छ, “त्यहाँबाट देखिने हरिया डाँडाकाँडा, वनफूलले ढाकिएका पाटन र छिनछिनमा फेरिइरहने मौसमले लोभ्याउँदोरहेछ ।”

पहिलो दिन कोरी पुग्दा मौसम धुम्मिएपछि त्यो रात कोरीमै बिताएको उहाँले सुनाउनुभयो । हिउँदमा जस्तो छ्याङ्ग हिमाल नखुले पनि रिमझिम वर्षा र बाँदलभित्र लुकामारी खेलिरहेको अन्नपूर्ण र लमजुङ हिमालको दृश्यले रोमाञ्चित बनाएको पौडेलले बताउनुभयो । “अर्कोदिन मौसम राम्ररी खुल्यो, हिमाल र डाँडापाखाको दृश्यालोकन गर्न पायौँ”, उहाँले भन्नुभयो, “मनसुनको याममा मुख्य गरी कोरीको आकर्षण बनेको भुइँभरि देखिने रङ्गीचङ्गी फूल र हराभरा देखिने प्रकृति नै हो ।” पौडेलले सामाजिक सञ्जाल टिकटकमा कोरीको भिडियो देखेपछि साथीहरु मिलेर घुम्ने योजना बनाएको बताउनुभयो ।

कोरी पदयात्रा तीन दिनमै पूरा गर्न सकिने र धेरै खर्चिलो पनि नभएको उहाँले बताउनुभयो । स्तरीय पदमार्गसहित पर्यटकीय सुविधा पनि उपलब्ध भएकाले कोरीको यात्रा सहज भएको पौडेलले सुनाउनुभयो । सिक्लेसका पर्यटन व्यवसायी धन गुरुङले सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आउजाउ बढेको बताउनुभयो । “बर्खा लागेपछि अन्यत्र अफसिजन सुरु हुन्छ, कोरीमा भने यही बेला बढी पर्यटक आउँछन्”, उहाँले भन्नुभयो, “कोरी र आसपासको क्षेत्र अहिले भुइँफूलले ढाँकिएको छ, मनसुन ट्रेकमा रमाउनेका लागि कोरी उपयुक्त गन्तव्य हो ।”

पदयात्री सिक्लेसबाट अन्नपूर्ण हिमालको काखमा रहेको कपुचे हिमताल हुँदै तीन हजार ८०० मिटरको कोरी लेक पुग्ने गरेको गुरुङले बताउनुभयो । सिक्लेसबाट तस हुँदै कोरी र कपुचे हिमताल हुँदै कोरी जाने दुईवटा पदमार्ग छन् । तीन दिनमा कोरी ट्रेक घुम्न सकिन्छ । पर्यटकीय गतिविधि बढेपछि कोरीमा होटल खुलेका छन् । पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने सञ्चार सामग्री, युट्युब माध्यमलगायतले त्यस क्षेत्रलाई उजागर गरिदिएपछि पर्यटकको थप आकर्षण बढेको पर्यटन व्यवसायी गुरुङको भनाइ छ ।

बागलुङकी सकुन्तला थापा पनि वर्षात्को कुनै पर्वाह नगरी गत असारको अन्तिम साता ढोरपाटनको बुकी क्षेत्र पुग्नुभयो । मनसुन पदयात्राका लागि पछिल्लो समय चर्चामा रहेको उक्त क्षेत्र पुग्नेमा उहाँ एक्लै भने हुनुहुन्थेन । साथमा अरु चार जना साथी पनि थिए । असार ३० मा बागलुङ बजारदेखि मोटर यात्रामा निस्किएको उक्त टोली त्यसै दिन दिउँसो ढोरपाटन उपत्यका पुगेको थियो । चार हजार मिटरमाथिसम्म फैलिएको बुकीपाटन पुग्ने लक्ष्यसहित उनीहरु त्यहाँबाट पदयात्रा सुरु गरे । पाँच घण्टाको पदयात्रापछि बुकी पुगे ।

चार हजार मिटर उचाइमा अवस्थित गर्पाछेडासम्म पुगेर फर्किएको थापाले बताउनुभयो । पहिलो दिन बुकीमा रहेको गोठमा रात बिताएर भोलिपल्ट घुमफिर गरी साँझ ढोरपाटन उपत्यका झरेको उहाँको भनाइ छ । “बुकीमा खाना र बासको सुविधा नभएकाले तलबाटै सबै बन्दोबस्त गरेर जानुपर्छ, झोलामा लगेका खानेकुरा खाएर हामीले गोठमै रात बितायौँ”, थापाले भन्नुभयो, “त्यहाँ पुग्दा भैँसी र भेँडा गोठालाको दिनचर्या हेर्न पाइन्छ, भेँडीगोठमा रमाउन पाइन्छ ।”

विशाल क्षेत्रमा फैलिएका हरिया पाटन र खर्कले यो याममा बुकीको आकर्षण बढाएको उहाँले बताउनुभयो । ढोरपाटन उपत्यका पनि अहिले रङ्गीचङ्गी भुइँफूलले सजिएको छ । वनफूलले ढाकिएको उपत्यकामा घोडा सयर गर्न पाउनु त्यहाँको अर्को आकर्षण रहेको थापाले बताउनुभयो । पोखराका पर्यटक पथप्रदर्शक दिवस गुरुङले तीन÷चार वर्षयता मनसुन याममा ढोरपाटन घुम्ने पर्यटकको सङ्ख्या बढेको बताउनुभयो । “फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालले पनि ढोरपाटन र बुकी क्षेत्रको प्रचारप्रसारमा व्यापकता ल्याएको छ”, उहाँले भन्नुभयो, “बुकी पदयात्रामा जाने पर्यटक बढ्न थालेपछि पर्यटन व्यवसायीहरुले गोठस्टेको अवधारणा पनि सुरु गर्नुभएको छ ।”

गुरुङले आफू पनि हालै ढोरपाटन घुमेर फर्केको सुनाउनुभयो । त्यहाँ छँदा जाजरकोट, अर्घाखाँची, गुल्मीदेखि आएका पर्यटकलाई भेटेको उहाँले बताउनुभयो । “नेपालमा विशेष गरी शरद् र वसन्त ऋतुमा बढी पर्यटकीय गतिविधि हुने गर्छन्, मानिसहरु पनि यही बेला बढी घुम्न निसक्छन्”, गुरुङले भन्नुभयो, “तर पछिल्लो समय मनसुनको समयमा पनि नजिकका गन्तव्यमा घुमघाम गर्ने, पदयात्रामा जाने क्रम बढीरहेको छ, यसले नेपाल पर्यटनका लागि हरेक मौसममा उपयुक्त छ भन्ने देखाउँछ ।”

असारदेखि भदौसम्मको समय मनसुन बढी सक्रिय हुने र यो बेला बाढीपहिरोजस्ता प्राकृतिक विपद्का घटना निम्तने भएकाले विशेष सावधानी अपनाएर मात्र यात्रा गर्नुपर्ने उहाँको सुझाव छ । “गन्तव्यस्थलको सम्मको यातायात र अन्य सुविधा, मौसमको पूर्वानुमानलगायतका विषयमा जानकारी बटुल्नुपर्छ, यात्राको बन्दोबस्त पनि सोहीअनुसार मिलाउनुपर्छ”, गुरुङले भन्नुभयो, “भौगोलिक रुपमा अति कठिन र विपद् जोखिम भएका ठाउँको यात्रामा सकभर नजानु नै उत्तम हुन्छ ।” उहाँले मनसुन याममा घुमफिरका लागि उपयुक्त थुप्रै गन्तव्य नेपालमा भए पनि तिनको उजागर हुन नसकेको बताउनुभयो । पछिल्लो समय गण्डकी प्रदेशमा कास्कीको कोरी, बागलुङको ढोरपाटन, बागलुङ र पूर्वीरुकुमको सीमामा पर्ने चौँरीखर्कलगायत गन्तव्यस्थल मनसुन पदयात्राका लागि चिनिन थालेको गुरुङले बताउनुभयो ।

ट्रेकिङ ऐजिन्सिज एसोसिएसन अफ नेपाल (टान), गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले सम्भावना भएर पनि नेपालमा मनसुन याम केन्द्रित पर्यटकीय गतिविधि हुन नसकेको बताउनुभयो । मनाङ, मुस्ताङलगायत उपल्लो भेगमा यस याममा पनि पदयात्राका गतिविधि सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । “पर्यटनलाई बाह्रैमास चलायनमान बनाउने गरी नीति र प्रवद्र्धनका कार्यक्रम ल्याउनु आवश्यक छ, निजी क्षेत्रले मात्र चाहेर हुँदैन, यसमा सरकारले नै पहल लिनुपर्छ”, उहाँले भन्नुभयो, “मनसुनमा पनि घुमफिर गर्न रुचाउने, आनन्द लिने पर्यटक हुन्छन्, तर उनीहरुलाई आकर्षित गर्न सकिएको छैन ।” रासस