काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) र कुवेत क्रिकेट बोर्डबीच पुरुष तथा महिला क्रिकेट टोलीका लागि वार्षिक दुईपक्षीय श्रृंखला सञ्चालन गर्ने सहमति भएको छ।
सहमतिअनुसार सन् २०२६ देखि प्रत्येक वर्ष महिला र पुरुषतर्फ कम्तीमा तीनवटा टि–२० अन्तर्राष्ट्रिय खेल र अतिरिक्त ५० ओभरका खेलहरू दुवै देशमा पालैपालो आयोजना गरिनेछ।
यस सहकार्यले दुई देशका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने र एसोसिएट राष्ट्रहरूबीच प्रतिस्पर्धी क्रिकेटलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ।
यता, आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्र छनोटमा नेपाल र कुवेत एउटै समूहमा परेका छन्। आगामी अक्टोबरमा ओमानमा आयोजना हुने उक्त छनोटमा नेपालसहित कुल ९ टोली सहभागी हुनेछन्। शीर्ष तीन टोलीले सन् २०२६ मा हुने टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन्










