काठमाडौँ । नेपाली यु–२० महिला टोलीका प्रशिक्षक याम गुरुङले सेट पिसमा गोल गर्ने योजना सफल नहुँदा र खेलाडीमा धेरै थकानले गर्दा साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्न असफल भएको बताएका छन् ।
बंगलादेशमा मंगलवार सम्पन्न यु–२० महिला च्याम्पियनसिपमा यसपल्ट पनि उपविजेतामै सीमित भएको नेपाली टोली टोली बुधवार स्वदेश फर्किएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक गुरुङले अन्तिम खेलमा जित्नैपर्ने दबाब र पाँच वटा खेल २४ घण्टाको अन्तरमा खेल्नुपर्दा खेलाडीमा थकान रहेकाले सोचेअनुरूप प्रदर्शन हुन नसकेको बताए । धेरै राम्रो रहेको बंगलादेशको टोलीविरुद्ध खेल्दा आफ्ना खेलाडीले राम्रो आराम गर्न नपाउनुले समस्या भएको प्रशिक्षक गुरुङको भनाइ छ । विपक्षी आपूmहरू भन्दा बिल्डअपमा धेरै राम्रो रहेकाले सेट सिपमा ध्यान दिएर खेले पनि त्यसमा सफल नभएको प्रशिक्षक गुरुङ बताउँछन् ।
निर्णायक खेलमा घरेलु टोली बंगलादेशसँग ४–० ले सहजै पराजित हुँदा नेपाली टोली चार राष्ट्र रहेको च्याम्पियनसिपमा उपविजेतामा नै सीमित भएको थियो । प्रशिक्षक गुरुङले विपक्षी टोलीसँग सातजना राष्ट्रिय टोलीको सदस्य रहँदा उनीहरू त्यसको सदुपयोग गरेको पनि उल्लेख गरे । बंगलादेशको अनुभवी खेलाडी, होम ग्राउन्ड र आफ्ना खेलाडी थकित हुँदा अन्तिम खेलको नतिजामा धेरै फरक परेको उनको बुझाइ छ । उनले ट्याक्टिल समस्याभन्दा पनि थकान हुँदा मसल टाइट भएपछि राम्रोसँग खेल्न नसकेको दाबी गरे । उपाधिविहीन भए पनि ठूलो दर्शकका माझ कसरी खेल्ने भन्नेबारे खेलाडीले सिकेको प्रशिक्षक गुरुङले बताएका छन् ।
उनले पूर्णिमा राई, मीना देउवा, बिर्सना चौधरी, सुक्रिया मिया, सेनु परियार र सिमरन राई जस्ता खेलाडी छिट्टै राष्ट्रिय टोलीमा आउन सक्ने आशा व्यक्त गरेका छन् । यद्यपि, पूर्णिमाले पहिलो तीन खेलजस्तो अन्य खेलमा प्रदर्शन गर्न नसकेको पनि उल्लेख गरेका छन् । बंगलादेशसँगको पहिलो खेलमा बराबरी हुने खेल गुमाउने परेको उल्लेख गरे । राम्रोसँग आराम गर्न नपाउँदा खेलाडीहरू थकित भएकाले सोचेअनुरूप नतिजा आउन नसकेको उनी बताउँछन् । त्यहाँको मौसम र खानपानले गर्दा पनि खेलाडीहरूको लागि सहज नभएको प्रशिक्षक गुरुङले उल्लेख गरेका छन् ।










