७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

सिन्धुलीगढीको झल्को गढीडाँडामा

सिन्धुलीगढीको झल्को गढीडाँडामा
अ+ अ-
कमलामाई । जहाँ इतिहासको धड्कन सुनिन्छ, त्यही हो सिन्धुलीगढी । जसलाई वीरता, रणनीति, स्वाभिमान र नेपाली अस्तित्वको प्रतीकका रुपमा लिइने गरिन्छ । यही गढीको माटोमा पहिलोपटक अङ्ग्रेज साम्राज्य झुकेको थियो र यहीँबाट नेपाली गौरवको आवाज विश्वभर गुन्जिएको थियो ।
यो गौरवशाली ऐतिहासिक स्थलको कतिपयले नाम त सुने तर अनुभूति गर्न पाएका छैनन् । यही खाँचोलाई कम गर्न ऐतिहासिक पदमार्ग चियाबारी–सिन्धुलीगढीमा पर्ने अर्को एउटा डाँडाले नेपाली स्वाभिमान उच्च बनाएको स्थल सिन्धुलीगढीको झल्को दिइरहेको छ बदलेको आफ्नो परिचय, ‘गढीडाँडा’ को स्वरुपमा ।
सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित बिपी राजमार्गअन्तर्गत रहेको ‘सेल्फीडाँडा’ भनेर चिनिने यस स्थान केवल तस्बिर खिच्ने, टिकटक बनाउने थलो मात्रै होइन, इतिहास बुझ्ने, महसुस गर्ने र नेपाली हुनुको गौरवता बोकेर फर्किने स्थलका रुपमा चिनिँदैछ । किनकि यहाँ इतिहास बोलेको छ वीरताको सालिकमा र नेपालको गौरवशाली विगतलाई झल्काउने भित्तेचित्रहरुमा । इतिहासको गाथा बोकेको सिन्धुलीगढीको झल्को अब गढीडाँडामा पनि देखिन्छ । बिपी राजमार्गको पेटी जहाँ यात्रुहरू आफैँ इतिहाससँग साक्षात्कार गर्न सक्छन् ।
गढीडाँडामाथिको बुट्टेदार पर्खालको फेदमा ऐतिहासिकस्थल सिन्धुलीगढी, गढी दरबार, गढी क्षेत्रमा गोर्खाली र अङ्ग्रेजबीचको ऐतिहासिक युद्धदेखि धार्मिक महत्व बोकेको भद्रकाली मन्दिरसम्मका दृश्यहरु भित्तामा उतारिएको छ । गढी युद्ध सालिकमा देख्न सकिन्छ । यो नेपाली सेनाको प्राविधिक सहयोग र कमलामाई नगरपालिका, सिन्धुलीको आठ लाख लगानीमा निर्माण गरिएको हो ।
यही स्थानबाट देखिने वरपरको घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्यहरुले जो कोहीलाई पनि मोहित बनाउँछ । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय बिपी राजमार्ग र दायाँबायाँको बस्तीले आकर्षणको केन्द्र बनेको छ, गढीडाँडा । गढीडाँडामा कोरिएका भित्तेचित्र र सालिकले सिन्धुलीगढीको झल्को झल्काउने अवलोकनकर्ता रवीन्द्र महर्जन बताउनुभयो । भन्नुभयो, “गोर्खाली सेनाको बहादुरी र गढी युद्धको भव्यता अब गढीडाँडामा पनि देखिन्छ ।”
बिपी राजमार्ग हुँदै यात्रा गर्नेका लागि गढीडाँडा विश्रामको केन्द्र बन्दै गएको छ । यात्राको दौरानमा सवारी रोकेर धेरैले यहाँ, ‘सेल्फी’ खिच्ने, वातावरणीय सुन्दरतालाई तस्बिर र भिडियोमा कैद गर्ने, इतिहास झल्काउने भित्तेचित्र र सालिक नियाल्ने, हरियाली डाँडाकाँडा र टाढासम्म फैलिएको सिन्धुलीको दृश्यावलोकन गर्ने गर्दछन् । यहाँको रमणीय स्थानमा यात्रा मात्र हुँदैन, स्मृति सँगालिन्छ ।
यहाँ दृश्यावलोकन मात्रै होइन, जिल्लामा उत्पादित जुनार, सुन्तला, भुइँकटहर जस्ता फलफूलबाट बनाइएको जुस, चियाको चुस्की तथा खाजाको स्वाद लिन पनि सकिन्छ  । तातो चिया घुट्क्याउँदै वा चिसो जुसको स्वाद लिँदै गढीडाँडाबाट फैलिएको हरियाली दृश्यावलोकन गर्दाको आनन्द बयान गरिसाध्य छैन ।
गढीडाँडाको विकास भएसँगै स्थानीय रोजगारी र व्यापार, व्यवसायमा सकारात्मक प्रभाव परेको छ । “पहिलाको भन्दा दोब्बर सवारीसाधन रोकिन्छन्, चिया, जुस र अन्य खाजा खाँदै गढीडाँडा र सिन्धुलीको ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थलहरुका बारेमा सोध्छन् । पहिले यस्तो हुन्नथियो,” स्थानीय व्यवसायी सुनिता थापामगरले सुनाउनुभयो ।
इतिहास अध्यता तथा कमलामाई नगरपालिका, सिन्धुलीका सूचना अधिकारी सागरकुमार ढकालका अनुसार सेल्फीडाँडा गढीडाँडामा रुपान्तरण भएसँगै यो स्थान बिपी राजमार्गमा अवस्थित एक ऐतिहासिक र पर्यटकीय आकर्षक गन्तव्यको केन्द्र बनेको छ । यहाँ अवलोकन गर्नेहरुले होचा–अग्ला डाँडापाखा र हरियालीले सजिएको सिन्धुलीको अवलोकन मात्रै गर्न पाउने छैनन्, हाम्रा अग्रजको योगदान, नेपाली वीरताको इतिहास, सिन्धुलीगढीको महत्वसँगै आफ्नो राष्ट्रका लागि आफूले निर्वाह गर्नुपर्ने भूमिका र कर्तव्यबोध पनि गर्नेछन् ।
सिन्धुलीगढी क्षेत्रको ऐतिहासिक महत्व उजागर गर्न नेपाली सेना निरन्तर क्रियाशील देखिन्छ । श्री नं ९ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी युवराज कार्कीका अनुसार नेपाली सेनाले विगतदेखि नै यस्ता ऐतिहासिक गढी, किल्ला तथा ऐतिहासिक क्षेत्रहरुको संरक्षण, पुनःनिर्माण र प्रचार–प्रसारमा अग्रसरता देखाउँदै आएको छ ।
विक्रम संवत्ं २०८१ को पुस १९ गते सिन्धुलीगढी पुर्न निर्माणको नेतृत्व लिएपछि हाल सेल्फीडाँडाको परिचय बनाउँदै गएको पुर्खाको नासोलाई गढीडाँडाका रुपमा रुपान्तरण गरिएको छ । गढीडाँडामा निर्माण गरिएका संरचना इतिहास र स्वाभिमानप्रति भावी पुस्तालाई आकर्षण जगाउने माध्यम बन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । “सिन्धुलीगढी क्षेत्रको बृहत् प्रवद्र्धनका लागि यो कार्यले सघाउ पु¥याउने विश्वास लिइएको छु,” वाहिनीपति कार्कीले भन्नुभयो, “भविष्यमा दीर्घकालीन योजनासहित थप ऐतिहासिक वीरताको गाथा समेटिने संरचना निर्माण गर्नसके यसको सार्थकता अझ बढ्नेछ ।”
उहाँले आगामी दिनमा गढी क्षेत्रको थप संरक्षण, संवद्र्धन, व्यवस्थापन तथा दीर्घकालीन सोचसहित बहुवर्षीय योजनामार्फत अझ थप ऐतिहासिक वृत्तान्त झल्काउने संरचनाहरू निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । यस प्रकारका संरचनाले चेतना जगाउनाका साथै पर्यटकीय सम्भावनालाई समेत थप प्रोत्साहन दिने उहाँको बुझाइ छ । विशेषगरी बिपी राजमार्ग हुँदै यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूले गढी क्षेत्रको महत्व बुझ्ने र अवलोकन गर्ने अवसर पाउनेछन् । साथै, सिन्धुलीगढी सङ्ग्रहालयसम्म पुग्न नसक्ने व्यक्तिहरूलाई त्यस क्षेत्रको भौगोलिक, ऐतिहासिक पृष्ठभूमिको सङ्क्षिप्त जानकारी गढीडाँडाले दिइने उहाँले  बताउनुभयो ।
ऐतिहासिक सिन्धुलीगढी क्षेत्रको प्रवद्र्धन र पुस्तान्तरणमा योगदान पु¥याउने उद्देश्यले गढीडाँडामा सेनाले निर्माण गरेका ऐतिहासिक भित्तेचित्र र योद्धाहरुको सालिक गत शनिबार एक विशेष समारोहबीच कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कमलामाई नगरपालिका र नेपाली सेनाले इतिहासको संरक्षणमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।
“गढीडाँडाको संरक्षण र प्रचारमार्फत इतिहासको पुनरावलोकन गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्ने यो अभियान अत्यन्त सराहनीय छ,” उहाँले भन्नुभयो, “पुर्खाहरूको ख्यातिलाई जीवन्त राख्दै ऐतिहासिकता झल्किने संरचनाहरूको निर्माणले पर्यटन प्रवद्र्धन र देशको आर्थिक विकासमा समेत सकारात्मक प्रभाव पार्नेछ ।” उहाँले यस्तो प्रयासले स्थानीयस्तरमा मात्र होइन, राष्ट्रिय तहमै अर्थतन्त्रलाई टेवा पु¥याउने अपेक्षा गर्न सकिने भन्दै निरन्तरताका लागि सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले गढीडाँडा ऐतिहासिक स्मृतिको जीवन्त प्रतीक भएको उल्लेख गर्नुभयो । “सिन्धुलीगढी त्यो भूमि हो, जहाँ नेपाली पुर्खाहरूले शक्तिशाली भनिने इस्ट इन्डिया कम्पनीका सेनालाई पराजित गरेका थिए”, उहाँले भन्नुभयो, “गढीडाँडाले त्यस गौरवपूर्ण इतिहासको झल्को दिन्छ ।” उहाँले राष्ट्र, राष्ट्रियता र स्वाभिमान जोगाउने कार्यमा नेपाली सेना र स्थानीय सरकार निरन्तर सहकार्यमा रहने बताउनुभयो ।
“विकासका निर्णायक योजनाहरू बनाउँदा इतिहासलाई जगेर्ना गर्दै भावी पुस्तालाई ऐतिहासिक ज्ञान सिकाउनु आवश्यक छ,” पोखरेलले भन्नुभयो, “त्यसबाट भविष्यको नीतिनिर्माणमा सहयोग पुग्छ ।”
नगरप्रमुख पोखरेलले सेल्फीडाँडाबाट ऐतिहासिक तथा पर्यटकीय दृष्टिले गढीडाँडामा रुपान्तरण गर्न नेपाली सेनाले पु¥याएको भूमिकाको प्रशंसा पनि गर्नुभयो । “कमलामाई नगरपालिकाको आठ लाख रुपैयाँ आर्थिक सहयोगमा सेनाले निर्माण गरेका संरचनाहरूले गढीडाँडालाई सिन्धुलीको ‘हाइवे हेरिटेज स्पट’ का रूपमा विकास गर्न मद्दत पुग्नेछ,” उहाँको भनाइ थियो । उहाँका अनुसार गढीडाँडा अहिले विश्रामस्थल, इतिहासको जानकारी दिने केन्द्र र स्थानीय उत्पादनको बिक्रीस्थलका रूपमा समेत विकसित हुँदैछ । “भविष्यमा गढीडाँडा मात्रै होइन, सिन्धुलीगढी क्षेत्रलाई समेत थप व्यवस्थित र समग्र पर्यटन गन्तव्यका रूपमा विकास गर्दै लगिने छ,” उहाँले भन्नुभयो ।
सिन्धुलीगढीको सुगन्ध अब गढीडाँडाबाट पनि फैलिँदैछ । बिपी राजमार्ग हुँदै यात्रा गर्ने जो कोहीले अब गढीडाँडामा केही मिनेट रोकिएर सेल्फी मात्रै होइन, इतिहास बुझ्ने र नेपालीको विरता अनुभव गर्नसक्ने छन् । यसले जिल्लाको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । यसरी इतिहासको संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्नसके देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुग्ने देखिन्छ । रासस