२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना हुलाकमार्फत घरघरमै राहदानी फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अम्रिसोखेतीबाट आम्दानी गर्दै कञ्चनपुरको चुरेफेदको सामुदायिक वन



अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित ऐश्वर्या सामुदायिक वन उपभोक्ता समूहले अम्रिसोखेतीलाई आयआर्जनको दिगो माध्यम बनाउँदै आएको छ ।

वनको झण्डै ३५ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा अम्रिसोखेती गर्दै समूहले वन संरक्षणसँगै आर्थिक समृद्धि हासिल गरिरहेको छ । वन कार्यालयका सचिव दामोदर जोशीका अनुसार सामुदायिक वनमा करिब डेढ दशकअघि सुरू गरिएको अम्रिसोखेतीलाई पछिल्लो छ वर्षदेखि व्यवस्थित र व्यावसायिक बनाइएको हो ।

“गएको असारसम्म सात हजार कुचो बिक्री गरेर रु तीन लाखभन्दा बढी आम्दानी ग¥यौँ”, जोशीले भन्नुभयो, “अघिल्लो वर्ष कुचो बिक्रीबाट रु दुई लाख मात्र आम्दानी भएको थियो ।”

वनबाट सङ्कलन गरिएको अम्रिसोबाट स्थानीय उपभोक्तालाई रोजगारी दिइएको छ । “अम्रिसो सङ्कलनदेखि उपभोक्तालाई नै झाडु (कुचो) बनाउन लगाइन्छ”, जोशीले भन्नुभयो, “प्रत्येक झाडु बनाउँदा उनीहरूले रु १५ पारिश्रमिक पाउँछन् भने बजारमा रु ५० देखि ७० सम्ममा बिक्री हुन्छ ।”

समूहका अध्यक्ष इश्वर बुढाका अनुसार बजारमा अम्रिसोको झाडुको माग उच्च छ । स्थानिय बजारमै सहज बिक्री हुन्छ । यद्यपि वन क्षेत्रमा अम्रिसोखेतीको क्षेत्र विस्तारका साथसाथै जङ्गली हात्तीको समस्या पनि बढ्दै गएको छ ।

“हात्तीले नोक्सानी गर्दा यस वर्ष केवल रु तीन लाख बराबरको झाडु मात्र बिक्री हुन सक्यो”, अध्यक्ष बुढाले भन्नुभयो, “अम्रिसोको आकर्षणले गर्दा हात्तीको बथान बस्ती छिर्न थालेको छ, त्यसैले अम्रिसोखेतीलाई चुरे क्षेत्रतर्फ सार्ने योजना बनाएका छौँ ।” हात्तीले नोक्सान नगर्ने हो भने रु १५ देखि रु २० लाखसम्मको झाडु उत्पादन गर्न सकिने अध्यक्ष बुढाले बताउनुभयो ।

समूहको दीर्घकालीन योजनामा चुरे क्षेत्रका खोल्सा तथा समथर भूभागलाई अम्रिसोखेतीयोग्य बनाउने लक्ष्य रहेको छ । कुचो बिक्रीबाट आएको रकम वन संरक्षणका विविध कार्यमा लगानी गरिएको छ । मेसवायर जडान, फलफूल र बाँसका नमूना प्लट विकास, उपभोक्ताका लागि आयआर्जनमूलक तालिम तथा कार्यक्रम सञ्चालन गर्दै वन संरक्षणलाई संस्थागत बनाइँदै आएको छ ।

विसं २०५८ मा स्थापना भएको सो सामुदायिक वन हाल तीन सय ९७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वनसँग ८१६ उपभोक्ता आबद्ध छन् । आम्दानी, रोजगारी, संरक्षण र समुदायबीचको सहकार्यको सफल नमूना बनेको यो वन अन्य सामुदायिक वनका लागि पनि प्रेरणाको स्रोत बन्दै गएको सामुदायिक वन समन्वय समितिकाका अध्यक्ष महेशदत्त जोशी बताउनुहुन्छ । रासस