काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको बताउनुभएको छ ।
आईतवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सशस्त्र द्वन्द्व अन्त्यपछि शान्ति प्रक्रियालाई अघि बढाउन राजनीतिक दलहरूको साझा पहल र सहमतिले महत्वपूर्ण भुमिका खेलेको उहाँको भनाइ छ । उहाँले टिरआसी विधेयक पास भइसकेको उल्लेख गर्दै त्यसले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्ने कुराको सुनिश्चितता गरेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालको द्वन्द्वलाई व्यवस्थापन गर्न र शान्ती प्रक्रियालाई व्यवस्थापन गर्नको लागि राजनीतिक दलहरुले गरेको साझा पहल, प्रयत्न र भूमिका असाधारण छ । यसले हजारौं द्वन्द्वपीडितहरुलाई न्यायको सुनिश्चितता गरेको छ । पीडकहरुलाई कानूनी दायरामा ल्याउने कुराको पनि सुनिश्चितता गरेको छ । अहिले विश्वका धेरै देशहरुले त्यहाँको द्वन्द्व व्यवस्थापन गर्दै शान्ती प्रक्रिया टुंग्याउनका लागि धेरै कसरतहरु गर्नुपरेको अवस्थामा हामीले गरेको कामको विषय प्रतिवेदनमार्फत विश्वमञ्चमा लैजानुपर्छ ।’
नेपालले शान्ति प्रक्रिया सफलतापूर्वक अघि बढाएको अनुभवलाई अन्तरराष्ट्रिय समुदायमा प्रश्तुत गर्नुपर्ने उहाँको मत छ ।









