काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको कुनै सम्भावना नरहेको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले त्यहाँभित्रकै अवस्था राम्रोसँग देखेको भन्दै एमालेसँग एकता हुन्छ की भनेर भ्रम नपाल्न आग्रह गर्नुभयो । उहाँले कम्युनिष्टहरु बिग्रिएपछि धेरै गन्हाउने गरेको भन्दै त्यही अवस्था अहिले आफूले देखिरहेको बताउनु भयो । उहाँले बिग्रिएकाहरुले आफूले गरेको गल्तीको महशुस गरेर सच्चिन र सुध्रिन जरुरी रहेको बताउनु भयो । आफूहरु कसैप्रति आग्रह पालेर नबस्ने पनि स्पष्ट पार्नुभयो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘भन्छन् निः कम्युनिष्टहरु गन्हाएपछि साह्रै खत्तम हुँदो रहेछ । त्यस्तो नहोस् । हामी चाहन्छौँ । सबै सुध्रिउन् । हामी चाहन्छौँ, सबै सही बाटोमा अघि बढौँ । विगतमा आफूबाट कमजोरी भएका छन् भने सच्याउन्, पुनरावलोकन गरुन् । कमी, कमजोरी स्वीकार गर्ने आँट गरुन् । हामीले कसैप्रति कुनै आग्रह पाल्नुपर्ने छैन । सम्भावनाको कुरा गर्नुहुन्छ भने अहिले नेकपा एमालेसँग एकताको कुनै सम्भावना छैन । अहिलेको बिन्दुमा उभिएर भन्दाखेरी नेकपा एमालेसँग एकताको कुनै सम्भावना छैन । त्यहीँ भित्रको अवस्था देखिरहेका छौँ । त्यसप्रति लसपस कसैको छ भने, आशा अपेक्षा छ भने मेरो भन्नु केही पनि छैन ।’
अध्यक्ष नेपालले आफ्नो पार्टीलाई सिध्याउन नेकपा एमालेले प्रयत्न गरिरहेको आरोप लगाउनु भयो । पार्टीलाई बलियो बनाउन नेपाल राष्ट्रिय एकता अभियानसँगको एकताको भुमिका महत्वपूर्ण रहने बताउनु भयो ।










