काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र विधि निर्माणको अन्योल अन्त्य भएको बताउनुभएको छ।
सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक अभिव्यक्तिमा पोखरेलले ‘मिसन ८४’ का लागि आवश्यक बलियो नेतृत्व र एकताबद्ध पार्टी सुनिश्चित भइसकेको उल्लेख गर्नुभएको छ । बिहीबार पार्टी सचिवालय बैठकले दुई कार्यकालको हदम्याद र ७० वर्षे उमेर हद हटाउने प्रस्ताव पास गरेपछि वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष बन्ने बाटो खुलेको छ । सोही प्रति सङ्केत गर्दै पोखरेलको यो प्रतिक्रिया आएको हो ।
‘विधि निर्माणको अन्योल अन्त्य भएको छ, मिसन ८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो, त्यो सुनिश्चित भएको छ,’ पोखरेलले फेसबुकमा लेख्नु भएको छ ।
एमालेले साउन १ गतेदेखि विधान अधिवेशन प्रक्रियामा प्रवेश गरेको छ। त्यसलाई दृष्टिगत गर्दै पोखरेलको टिप्पणी आएको हो। पछिल्ला दिनहरूमा पार्टीभित्र पदाधिकारीको भूमिका, सांगठनिक संरचना र भविष्यको रणनीतिबारे आन्तरिक छलफल तीव्र बनेको थियो।
महासचिव पोखरेलले विधान निर्माणसँग जोडिएको अन्योल अन्त्य गर्दै पार्टी अब आगामी निर्वाचन लक्षित रणनीतिमा केन्द्रित हुँदै गएको सङ्केत गर्नु भएको छ ।
नेकपा एमालेले २०८४ सालको निर्वाचनलाई ‘मिसन ८४’ नाम दिएर विशेष तयारी थालेको छ। त्यस सन्दर्भमा पोखरेलले नेतृत्व र एकतामाथि दिएको जोड पार्टीभित्र सहमतिको वातावरण बनेको सङ्केतका रूपमा लिइएको छ।










