७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

सिस्नेरीका थापा च्याउखेतीमा लगानी बढाउँदै

सिस्नेरीका थापा च्याउखेतीमा लगानी बढाउँदै
अ+ अ-

गण्डकी । युवाहरूको विदेश मोह बढेसँगै देशव्यापी रूपमा कृषिप्रतिको अनाकर्षण बढिरहेको अवस्थामा पोखरा महानगरपालिका(११ का ध्रुवबहादुर थापाले भने व्यावसायिक च्याउखेतीमा लगानी बढाउँदै जानुभएको छ ।

काहुँ सिस्नेरी एग्रो फार्म सञ्चालन गर्दै आउनुभएका उहाँले च्याउखेतीका लागि करिब रु एक करोड ५० लाख बढी लगानी गरिसक्नुभएको छ । विगतमा खाद्यान्न आपूर्तिको काममार्फत व्यावसायिकतामा लाग्नुभएका उहाँले कोरोना महामारीपछि व्यावसायिक रूपमा च्याउखेती सुरु गर्नुभएको हो ।

कोरोनाकालीन समयमा आएको व्यावसायिक च्याउखेतीको योजनालाई व्यवहारमा उतार्नुअघि विसं २०७४ देखि अध्ययन तथा प्रक्रियागत काम सुरु गर्नुभएको थियो । अहिले उहाँले चिस्यानसहितको आधुनिक प्रविधियुक्त टनेलमा च्याउखेती गरिरहनुभएको छ ।

विसं २०७७ फागुनमा चिस्यानसहितको प्रविधियुक्त टनेलको काम सकेपछि च्याउखेती थाल्नुभएका उहाँले सुरुमा रु ५० लाख लगानी गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सुरुमा १२ टन क्षमताको उक्त टनेलबाट प्रत्येक तीन महिनाको एक याममा दुई हजार ४०० किलोसम्म गोब्रे च्याउ उत्पादन भएको थियो ।

बजारको बढ्दो मागसँगै च्याउखेतीप्रतिको लगाव बढेपछि अहिले १२ टन क्षमताको टनेललाई विस्तार गरी २० टन बनाएको जनाउँदै थापाले थप २० टन क्षमताको टनेल निर्माण गरिरहेको बताउनुभयो । बाह्र टन क्षमताको टनेलको क्षमता वृद्धिसँगै अर्को टनेल निर्माण गर्दा करिब रु ७० लाख लगानी भएको उहाँले जानकारी दिनुभयो ।

पछिल्ला समयमा गरिएको थप टनेल निर्माण तथा क्षमता विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत रु २७ लाख ९१ हजार ८८८ अनुदानबापतको रकम प्राप्त भएको थापाले उल्लेख गर्नुभयो । उहाँका अनुसार दैनिक करिब पाँच सय किलो गोब्रे च्याउ टिप्दै आइएको छ ।

“कन्ये च्याउ सामान्य टहरामा उत्पादन गर्न सकिए पनि गोब्रे च्याउका लागि हाइटेक प्रविधि जडित टनेलभित्र गर्नुपर्ने हुन्छ । आफूले उत्पादन गरिरहेको च्याउको खपत पोखरामा हुने गरेको छ”, थापाले भन्नुभयो । बीस टन क्षमताका दुईवटा टनेलबाट पूर्णरूपमा उत्पादन हुँदा प्रत्येक तीन महिनाको समयावधिमा छ हजार किलो च्याउ उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

“बजारमा प्रतिकिलो रु तीन सयदेखि रु तीन सय ५० सम्ममा च्याउ बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “पोखराको बजारमा दैनिक छ सय किलोसम्म यो च्याउको माग छ ।” थापाको च्याउखेती फार्ममा हाल १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । च्याउको कम्पोष्ट राख्ने, टिप्ने, त्यसको व्यवस्थापन गर्नेलगायत कामका लागि आवश्यकताअनुसार अन्य जनशक्ति खटाइएको गरिएको उहाँले बताउनुभयो ।

बहुपोषणयुक्त च्याउमा ३५ प्रतिशत प्रोटिन पाइन्छ भने क्यालोरी तथा चिल्लो पदार्थको मात्रा कम हुने भएकाले पछिल्लो समय यसको माग र प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको थापाको भनाइ छ । “च्याउमा ‘एर्गो थियोनिन’ भन्ने तत्व हुन्छ, जसले चाउरीपना हटाउनुका साथै छालाको सुरक्षा गर्दछ । यसमा ‘एन्टी अक्सिडेन्ट’ प्रशस्त मात्रामा पाइन्छ”, उहाँले भन्नुभयो ।

रोग प्रतिरोधात्मक क्षमता हुने च्याउमा भिटामिन डि प्राप्त हुन्छ भने कम मात्रामा कार्बोहाइड्रेड हुन्छ । नियमित रूपमा च्याउ खानाले उच्च रक्तचाप, मधुमेहलगायत रोग नियन्त्रण गर्न मद्दत पुग्ने तथा क्यान्सरको जोखिम कम गर्नुका साथै तौल घटाउन पनि उपयोगी मानिन्छ ।

च्याउ खेतीमा आकर्षण बढाउँदै परियोजना

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, कास्कीले पोखरा र आसपासमा व्यावसायिक च्याउ खेतीप्रतिको आकर्षण बढाउन अनुदान, सहयोगलगायतका कार्यक्रम अघि बढाएको छ ।

परियोजनाअन्तर्गत पोखरा र आसपासका क्षेत्रमा च्याउखेतीको विकासका लागि गत आवमा करिब रु ४० लाख लगानी गरिएको परियोजना कार्यान्वयन इकाईका प्रमुख माधव लम्सालले जानकारी दिनुभयो । पोखरा कन्ये च्याउमा आत्मनिर्भर बनिसकेको बताउँदै उहाँले गोब्रे च्याउमा आत्मनिर्भर बनाउनका लागि पहल भइरहेको उल्लेख गर्नुभयो । आगामी एक(दुई वर्षभित्रमा यस क्षेत्रलाई गोब्रे च्याउमा पनि आत्मनिर्भर बनाउने गरी काम भइरहेको उहाँको भनाइ छ ।