१ भाद्र २०८३, सोमबार
,
Latest
नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६ प्रदेश मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ नायिका करुणा पाण्डेको तीज गीत ‘मेरै मायाको प्यारी हुने हो’ सार्वजनिक विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ सरकार जनअपेक्षा सम्बोधन गर्न पूर्ण रूपमा असफलः एमाले सांसद राई सरकारले परिणाम देखाउनुपर्छ, पुराना दललाई दोष दिएर उम्किन मिल्दैनः अध्यक्ष राई नेपाल विद्युत प्राधिकरणको जडित क्षमता ४ हजार १२० मेगावाट पुग्यो, वार्षिक नाफा ५ अर्ब ४… रास्वपाले संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न गर्‍यो नयाँ व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपहाडमा पाइँदैन डोको, डालो र भकारी



अ+ अ-

अमरगढी, (डडेल्धुरा) । प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा र भकारी लोप हुँदै गएका छन् । केही वर्षअघिसम्म गाउँघरमा कृषिकर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी साधन पछिल्लो समय लोप हुँदै गएका हुन् ।

यहाँका दलित तथा जनजाति समुदायका सिपालु व्यक्तिले पुस्तौँदेखि डोको डालो, सुप्पा र भकारी बुनेर विभिन्न ठाउँमा मेला, पर्व तथा गाउँघरमा बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । पछिल्ला केही वर्षयता कृषिजन्य आयातीत सामग्रीको बढ्दो प्रयोग र गाउँघरका सामुदायिक वनमा पनि कच्चापदार्थको अभावका कारण यो व्यवसाय लोप हुँदै गएको पाटन नगरपालिका–१० का वीरभान विकले बताउनुभयो ।

उहाँका अनुसार गाउँगाउँमा यातायातका साधन सञ्चालन हुन थालेपछि बाहिरबाट आएका प्लास्टिक तथा अन्य धातुुका सामग्रीको प्रयोगले बाँस र निगालो सङ्कलनमा समस्या हुन थालेपछि यसको चोयाबाट बनाइने सामग्री नपाउँदा पेसा सङ्कटमा परेको हो ।

एकदशक अघिसम्म पनि बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो ९सुप्पो०, चाल्लो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए । डडेल्धुराको अमरगढी नगरपालिका–७ तिलाडी, कैनी टोल, छचोडा आलितालको डोला, हन्तड, नवदुर्गा गाउँपालिकाका विभिन्न ठाउँमा यही पेसाकाभरमा जीविकोपार्जन गर्दै आएका कैयौँ व्यक्ति अहिले पेसा परिवर्तन गर्न बाध्य भएका छन् ।

“बाँस र निगालो पाउन छाडेपछि आयआर्जनको बाटो बन्द भएको छ”, अमरगढी–७ का टीका पार्कीले भन्नुभयो, “परिवार पाल्न धौधौ भएको छ ।” बाँस र निगालोका सामग्री बेचेर आम्दानी गर्ने बाटो बन्द भएपछि समस्या उत्पन्न भएको उहाँले बताउनुभयो ।

गाउँघरमा बाँस र निगालाका सामान प्रयोग गर्ने किसानको सङ्ख्या पनि घट्दै गएको आलिताल गाउँपालिका–८ का जोगराज भट्टले बताउनुभयो । “गाउँघरमा गोरुबाट गर्ने काममा ट्र्याक्टरको प्रयोगबाट हुन थाल्यो, अन्न राख्नका लागि बजारबाट ड्रम वा प्लास्टिक र स्टिलका भाँडा ल्याएर प्रयोग गरिन्छ । अब बाँस, निगालाबाट बुनेका सामग्री लोप भइसकेका छन्”, उहाँले भन्नुभयो । टाढाबाट कच्चापदार्थ ल्याएर सामग्री निर्माण गर्दा पनि लागत खर्चअनुसारको आम्दानी नहुँदा दलित समुदायले हैरानी खेप्नु परिरहेको उहाँहरूको गुनासो छ ।

सो समुदायले बाँस र निगालोको चोयाबाट बन्ने प्रतिडोकोलाई रु ४०० देखि रु ६०० सम्म बिक्री गर्ने आएका छन् । त्यस्तै, डालो, भकारी, मानो र नाङ्लो रु एक हजारदेखि रु चार हजारसम्ममा बिक्री गर्दै आएका छन् ।

युवा वैदेशिक रोजगारी र व्यापार व्यवसायमा आकर्षित भएपछि केही पाका पुस्ताले सम्हालेको यो पेसा पछिल्लो समय लोप हुँदै गएको हो । निर्माण गरिएका सामग्रीको पनि बिक्री गर्न बजारकोसमेत अभाव छ । नजिकैका गाउँबस्तीमा सहजै बिक्री हुँदैन । बिक्री भए पनि उचित मूल्य पाउन सकेका छैनन् ।