काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद्का घटनाहरूको न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, प्रभावकारी राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरूमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूमा आह्वान गरेको छ ।
पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले एक बिज्ञप्ति जारी गर्दे विपद्को यो घडीमा दलीय स्वार्थभन्दा माथि उठेर सम्पूर्ण नागरिकको जीवन रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी भएको जनाउनु भएको छ । उहाँले पार्टीका सम्पूर्ण सदस्यहरूलाई उच्च सतर्कता अपनाउँदै, मानवीय सेवाको उच्चतम भावनाका साथ सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अपिल समेत गर्नुभएको छ ।
बिज्ञप्तिमा भनिएको छ -मनसुन भित्रिने क्रमसँगै देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना बढ्ने र यसबाट ठूलो जनधनको क्षति हुन सक्ने विगतका अनुभवले देखाउँछन् । मौसम विज्ञान विभागले समेत यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिसकेको सन्दर्भमा हामी सबै थप सचेत र पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ । विपद्को समयमा मानवीय सेवाको भावनाले नागरिकको सेवा गर्नु सबैको कर्तव्य हो ।
अर्यालले पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूयसका लागि निम्न कार्यहरूमा ध्यान केन्द्रित गर्न अनुरोध गर्नुभएको छ ।
१. विपद् पूर्वको तयारी
• आ-आफ्नो क्षेत्रमा रहेका जोखिमयुक्त बस्ती, नदी किनार र पहिरोको जोखिममा रहेका स्थानहरूको पहिचान गरी स्थानीयवासीलाई सचेत गराउने ।
• स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना) र स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग निरन्तर समन्वय गर्ने ।
• तत्काल आवश्यक पर्ने सामग्रीहरू (जस्तै: त्रिपाल, डोरी, टर्चलाइट, प्राथमिक उपचार बाकस, ड्राइफुड) को व्यवस्थापनका लागि स्वयंसेवी रूपमा तयारी गर्ने ।
• हरेक वडा तथा पालिकास्तरमा ‘स्वयंसेवक समूह’ तयारी अवस्थामा राख्ने ।
• सामाजिक सञ्जाल र अन्य माध्यमबाट विपद् पूर्व अपनाउनुपर्ने सावधानीबारे सचेतनामूलक सन्देशहरू प्रवाह गर्ने ।
२. विपद् पश्चात्को प्रतिकार्य
• घटना भएको जानकारी पाउनासाथ स्थानीय निकाय र सुरक्षाकर्मीसँगको समन्वयमा तत्काल उद्धार कार्यमा जुट्ने ।
• पीडित तथा प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्न र अस्थायी आश्रयस्थलको व्यवस्थापनमा सहयोग गर्ने ।
• संकलन भएका राहत सामग्रीहरू (खाद्यान्न, लत्ताकपडा, औषधि, स्वच्छ पानी) को निष्पक्ष र पारदर्शी ढंगले वास्तविक पीडितसम्म पुर्याउने व्यवस्था मिलाउने ।
• घाइतेहरूको प्राथमिक उपचार र अस्पतालसम्म पुर्याउन सहजीकरण गर्ने ।
• प्रभावितहरूको तथ्याङ्क संकलनमा स्थानीय तहलाई सहयोग गरी कोही पनि नछुटुन् भन्ने सुनिश्चित गर्ने ।










