१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई



अ+ अ-

इलाम। माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । उहाँले यस वर्षमात्र कफीका बिरुवा बिक्रीबाट रु १३ लाख ५० हजार आम्दानी गर्नुभएको छ ।

पाँच वर्षअघि ‘वाङदेल नर्सरी सेन्टर’ स्थापना गरी कफीका बिरुवा उत्पादन गर्दै आउनुभएका राई माङसेबुङकै एक असल बिरुवा उत्पादक किसानका रूपमा परिचित हुनुहुन्छ । फेवाखोला नजिकै गजुरमुखी–इभाङ–चतुरे सडकको छेउमा पाँच रोपनी जग्गामा बिरुवा उत्पादन गर्दै आउनुभएको छ । यस वर्ष उहाँले ४५ हजार कफीका बिरुवा बिक्री गर्नुभएको छ ।

कफीको बिरुवा उत्पादन गर्न थालेपछि नर्सरीमै बिरुवा लिन आउने गरेको उहाँले बताउनुभयो । कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले कफीको बिरुवा उत्पादनलाई प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

कफीको बिरुवा इलामकासँगै पूर्वको सङ्खुवासभा र भोजपुर जिल्ला तथा छिमेकी मुलुक भारतको सिक्किमसम्म लैजाने गरेका छन् । बिरुवा विभिन्न पालिका, वडा कार्यालय, फार्म र किसानले खरिद गरी लैजाने गरेको उहाँको भनाइ छ ।

“बिरुवा उत्पादन गर्न खासै धेरै मेहेनत र समय पनि लाग्दैन”, उहाँले भन्नुभयो, “यहाँ उत्पादित बिरुवा इलाम तथा बाहिरसमेत जाने गरेको छ ।” कफीको बिरुवा प्रतिगोटा रु ३० का दरले नर्सरीबाटै बिक्री भएको उहाँले बताउनुभयो ।

राईले नर्सरीमा कफीमात्र होइन, अरु वनपैदावार बिरुवासमेत उत्पादन गर्दै आउनुभएको छ । उहाँको नर्सरीमा लाम्पाते, सिमल, पानीसाज, खमारी, उतिसलगायत वनपैदावार र आँप, लिची, कटहरलगायत फलफूलका बिरुवा पनि उत्पादन हुँदै आएको छ । वनपैदावार र फलफूलको बिरुवा प्रतिगोटा रु ४० का दरले नर्सरीबाटै बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

“कफीको बिरुवालाई पहिलो प्राथमिकता दिएको छु । अन्य वनपैदावार र फलफूलका बिरुवा पनि छन्”, उहाँले भन्नुभयो, “एकै ठाउँमा आफूलाई चाहिएको जति बिरुवा पाइने भएपछि ग्राहकलाई पनि सजिलो भएको छ ।” बिरुवा स्याहारसुसार तथा उखेल्ने र बिक्री गर्ने काममा राजेश आफैँ खट्नुहुन्छ । छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकाले बिरुवा उत्पादनमा जोड दिएको उहाँको भनाइ छ ।

उहाँको नर्सरी फार्मलाई कोशी प्रदेश सरकारको पनि राम्रै सहयोग मिलेको छ । दुई वर्षअघि कृषि ज्ञान केन्द्र इलाममार्फत नर्सरी प्रवर्द्धनका लागि उहाँले लागत साझेदारीमा रु दुई लाख अनुदान पाउनुभएको थियो । साझेदारीमा व्यवस्थित टनेल निर्माण गरिएको उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कानुसार इलाममा एक सय ३५ हेक्टर क्षेत्रमा कफीको व्यावसायिक खेती हुँदै आएको छ ।