२ पुष २०८२, बुधबार
,
Latest
जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो कार्बन व्यापारलाई दीर्घकालीन सहायक लाभको रुपमा लिनुपर्छः विज्ञहरु वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा



अ+ अ-

चितवन। चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार (टाइप) पत्ता लगाउने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री ( आइएचसी)’ मेसिन सञ्चालनमा ल्याएको छ ।

स्वीस कम्पनी ‘रोश’द्वारा निर्माण गरिएको यो मेसिनको प्रयोगसँगै अब बिरामीको नमूना (टिस्यु) भारतलगायत अन्य देशमा पठाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

अस्पतालका प्रयोगशाला प्रमुख डा ग्रेता पाण्डेका अनुसार यो मेसिनमार्फत अब नेपालमै क्यान्सरको पहिचान, वर्गीकरण र लक्षित उपचार निर्धारण सहज भएको छ । उहाँले भन्नुभयो, “बिरामीलाई क्यान्सर त भएको हो तर कुन प्रकारको हो भन्ने थाहा पाउन यो परीक्षण अनिवार्य हुन्छ । अब त्यो परीक्षण सजिलै यहीँ हुनेछ ।”

यसअघि परीक्षण भारत पठाउँदा रिपोर्ट ढिलो आउने, उपचारमा ढिलाइ हुने, खर्च बढ्नेलगायत समस्या थिए । अब भने छिटो, सटिक र वैज्ञानिक आधारमा रिपोर्ट प्राप्त गर्न सकिने भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार ‘रोश बेन्चमार्क अल्ट्रा’ एक पूर्ण स्वचालित प्रणाली हो, जसले टिस्युमा रहेका प्रोटिन मार्करहरू पत्ता लगाउँछ । उहाँले भन्नुभयो, “यसले लक्षित थेरापी र सम्पूर्ण उपचार योजनामा वैज्ञानिकता र विश्वसनीयता थप्नेछ ।” यो सेवा सुरु भएपछि अब नेपालमै ‘टप टेन कमन क्यान्सर’ जस्तै स्तन, पाठेघर, फोक्सो, ओभरी, पेट र आन्द्राका क्यान्सरको सटिक परीक्षण सम्भव भएको छ ।

उहाँका अनुसार यो मेसिन क्यान्सरको प्रकार पत्ता लगाउन प्रयोग गरिन्छ । विशेषगरी टिस्यु (मासुको नमूना)मा कुन प्रोटिनहरू उपस्थित छन् भन्ने कुरा पत्ता लगाउन यसले सहयोग पुर्याउँछ । यो मेसिनले टिस्यु स्लाइडहरूमा इम्युनोहिस्टोक्यामेस्ट्री (आइएचसी)) परीक्षण गर्छ, जसबाट ट्युमरमा कुन प्रोटिन अभिव्यक्त भएको हो भन्ने कुरा थाहा हुन्छ र यसले छिटो, सटिक र भरपर्दो नतिजा दिन्छ ।

क्यान्सरको केवल पुष्टि भएरमात्र पुग्दैन, कस्तो क्यान्सर हो भनेर थाहा पाएपछि मात्र कुन थेरापी दिने भनेर निर्णय गर्न सकिन्छ जस्तैः केमोथेरापी दिने कि रेडिएसन, कुन औषधि प्रयोग गर्ने, रोगको आक्रमकता कति हो भनेर जानकारी हुन्छ । अस्पताल आफैँले मेसिन खरिद गरेर सञ्चालनमा ल्याएको डा पौडेलले जानकारी दिनुभयो ।

अस्पतालका उपनिर्देशक डा उमेश नेपालले प्रविधिले बिरामीलाई छिटो उपचार सुरु गर्न सहयोग पुग्ने र बिरामी र आफन्तको मानसिक र आर्थिक बोझ पनि कम हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यस किसिमको प्रविधिको थालनीले अस्पताललाई प्रविधिमैत्री राष्ट्रिय क्यान्सर उपचार केन्द्रका रूपमा सुदृढ बनाउनेछ ।”

अस्पतालले आगामी दिनमा थप यस्ता आधुनिक प्रविधि थप्दै क्यान्सर उपचार तथा अनुसन्धान सेवा अझ प्रभावकारी बनाउने योजना अघि सारेको निर्देशक डा पौडेलले बताउनुभयो ।