काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को सर्वाधिक लोकप्रिय टिम सुदूरपश्चिम रोयल्सले अण्डर–१६ राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सुशील रावललाई अभ्यासका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
एनपीएलको पहिलो सिजनमा सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमबाट छनोट गरिएका ८ जना ‘हिरो’ खेलाडीमध्ये रावल एक हुन्।सुशील रावलले हालै सम्पन्न सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय ACC U-16 East Zone Cup मा नेपाली टोलीबाट खेलेका थिए। उनले नेपाललाई उपाधि जिताउने यात्रामा महत्वपूर्ण योगदान दिएका थिए।
सहयोग हस्तान्तरण कार्यक्रमका क्रममा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रकाश खड्काले भने: “हामी अत्यन्तै हर्षित छौं, किनभने हाम्रो ट्यालेन्ट हन्टबाट छनोट गरिएका खेलाडीहरूले राष्ट्रिय टिमसम्म स्थान बनाउनु गर्वको कुरा हो। सुशील रावलजस्ता प्रतिबद्ध र अनुशासित खेलाडीलाई सहयोग गर्न पाउनु हामी सबैका लागि प्रेरणादायी छ।”
सिंगापुरमा सम्पन्न उक्त प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता हात पारेको थियो। CEO खड्काले भविष्यमा अझ धेरै नयाँ प्रतिभाहरूको खोज र प्रोत्साहनमा जोड दिँदै थपे: “सुदूरपश्चिममा अझ धेरै लुकेका हिरा छन्। हामी निरन्तर नयाँ ट्यालेन्ट पहिचान र प्रोत्साहनमा लाग्नेछौं।
एनपीएलको तयारी पनि भव्यताका साथ हुँदैछ। यो सिजनमा अझ राम्रो र फरक तरिकाले तयारी गरिरहेका छौं। फ्यानहरूले धैर्य राख्न अनुरोध गर्दछु।” सुदूरपश्चिम रोयल्सको यो पहललाई क्षेत्रीय खेल विकासमा निजी क्षेत्रको उत्कृष्ट उदाहरणको रूपमा हेरिएको छ।










