२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन



फाइल फोटो
अ+ अ-

झापा। यहाँस्थित नारी सञ्चार गृहले पत्रकार महिलाहरूलाई पत्रकारितामा पेसामा प्रोत्साहित गर्ने उद्देश्यले स्थापना गरिएको अक्षय कोषमा रु ५१ लाख सङ्कलन भएको छ ।

संस्थाले उक्त कोषको ब्याजबाट रु एक लाख नगद राशिको नारी सञ्चार साधना पत्रकारिता पुरस्कार र रु २५ हजार नगद राशिको नारी सञ्चार युवा प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

विसं २०६८ मा पत्रकारितामा महिलालाई आकर्षित गर्ने, सङ्गठित गरेर तालिम प्रदान गर्ने र पेसामा टिकाइरहन प्रोत्साहित गर्ने लक्ष्य राखेर सावित्रा दाहालको अध्यक्षतामा नारी सञ्चार गृहको स्थापना भएको थियो । संस्थाले विसं २०७५ मा अक्षयकोषका लागि रकम जुटाउन सुरु गरेको हो ।

“पूर्वअध्यक्ष अम्बिका भण्डारीले रु १० हजार जम्मा गरेर अक्षयकोषको थालनी गर्नुभएको थियो”, संस्थाकी पूर्वअध्यक्ष भीमा शिवाकोटी भन्नुभयो, “उहाँको कार्यकालमा देउसीभैली खेलेर र पालिकाहरूबाट सहयोग जुटाएर अक्षयकोषमा रु २५ लाख पुर्‍याउने लक्ष्य राखिएको थियो । मेरो कार्यकालमा कोष वृद्धि गरेर रु ३४ लाख पुर्‍याएका थियौँ ।”

उहाँका अनुसार निवर्तमान अध्यक्ष रेजिना गौतमको कार्यकालमा अक्षयकोष वृद्धि गरेर रु ५१ लाख पुर्‍याइएको हो । दाताहरूले कोषमा सहयोग गर्ने क्रम जारी रहेकाले रु एक करोडसम्म पुर्‍याउने संस्थाको नयाँ लक्ष्य रहेको गौतमले बताउनुभयो ।

महिला पत्रकारहरूद्वारा मोफसलमा स्थापित यो सबैभन्दा ठूलो राशिको अक्षयकोष र पुरस्कार हो । संस्थाले बर्सेनि महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि पत्रकारितासम्बन्धी विभिन्न तालिम सञ्चालन गर्दै आएको अध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिनुभयो ।

नारी सञ्चार गृहले पत्रकार महिलाहरूको हितका लागि रचनात्मक कार्यहरू गर्दै आएकाले जिल्लाका विभिन्न सामाजिक सङ्घ संस्था र पालिकाहरूले अक्षयकोष वृद्धिका लागि सहयोग पुर्‍याउँदै आएका उहाँको भनाइ छ ।

नेपालको पहिलो महिला सम्पादक साधना प्रधानको स्मृतिमा संस्थाले महिला पत्रकारहरूलाई प्रदान गर्नेगरी नारी सञ्चार साधना पत्रकारिता पुरस्कार स्थापना गरेको हो ।

हालसम्म सावित्रा दाहाल र अम्बिका भण्डारी गरी दुई जना पत्रकार उक्त पुरस्कारबाट सम्मानित हुनुभएको छ । युवा प्रोत्साहन पुरस्कारबाट सुष्मा राजवंशी र चिरञ्जीवी घिमिरे पुरस्कृत हुुनुभएको छ । रासस