५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गुरका पाठापाठी बेचेर वार्षिक बाह्र लाख आम्दानी



अ+ अ-

कैलाली । यहाँको धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका परशुनारायण चौधरीले विगत १४ वर्षदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आउनुभएको छ । चौधरीको फार्ममा हाल भालेपोथी गरेर २७ वटा बङ्गुर छन् । उहाँको फार्मबाट वार्षिक रु ३० लाख बराबरको बङ्गुरका पाठापाठी बिक्री हुन्छ ।

खर्च कटाएर औसतमा वार्षिक रु १२ लाख आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो । व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रै हुन थालेको उहाँले बताउनुभयो । बङ्गुरको पाठापाठी हुर्काएर बिक्री गर्ने उमेर पुग्न करिब एक महिना लाग्छ । एउटा पाठा वा पाठी रु छ हजारमा बिक्री गर्ने गर्नुभएको छ ।

बङ्गुरपालनबाट गरेको कमाइले उहाँले गाउँमा इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको बताउनुभयो । “बङ्गुरपालन राम्रै फापेको छ”, उहाँले भन्नुभयो, “यो व्यवसायको कारोबार बढ्दै गयो र फाइदा हुँदै गयो, अहिले गाउँमा सानो इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको छु, जसबाट घर परिवारका सदस्यले काम पाए ।”

चौधरीले धनगढीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट यसै वर्ष रु ९० हजार अनुदान प्राप्त गर्नुभएको छ । अनुदान रकमले व्यवसाय गर्न अझै सहज भएको उहाँले बताउनुभयो । उहाँ सफल कृषकका रुपमा समेत पुरस्कृत भइसक्नुभएको छ ।

सुरुका वर्षमा मासु बिक्री गर्नुभएका उहाँले मासुका लागि बजार नपाएपछि पाठापाठी बिक्री गर्न थालेको बताउनुभयो । किसानलाई व्यवसाय सहजताका लागि सरकारी तवरबाट कोल्डस्टोर, बधशाला स्थापना गरिदिए अझै सहज हुने उहाँको भनाइ छ । रासस