२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

थुनिएको म्याग्दी नदी बग्न थाल्यो



अ+ अ-

म्याग्दी। धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ ।

धवलागिरि गाउँपालिका– ४ र ७ को सिमाना भएर बग्ने म्याग्दी नदीमा भिरबाट खसेको पहिरो थुप्रिँदा नदीको नियमित प्रवाह आंशिक रूपमा रोकिएको र तलाउ बनेको थियो । ठूला डुङ्गासहित पहिरोले बनाएको बाँध नाघेर नदी बग्न र तलाउमा पानीको सतह घट्न थालेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

दिउँसो १२ः३० देखि पहिरोका कारण तल्लो क्षेत्रमा पानीको सतह घटेको थियो । घटनास्थलमा पुगेका बाँसबोटको छिमेकी छहरीका बासिन्दा तम पुनले थुनिएको नदी बग्न थालेपनि भिरबाट पहिरो खस्ने क्रम भने नरोकिएको बताउनुभयो । करिब तीन सय मिटर लामो र ३० मिटर गहिरो तलाउ बनेको उहाँले बताउनुभयो ।

आज बिहान म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा भारी वर्षा भएको थियो । छहरी, कल्लेनी, बगर, भारवाङ, साँवता, थापाचौर, दरवाङ, छिसवाङ, खोप्टी, पिपलबोट, बाबियाचौर, तोराखेत, सिमलचौर, तातोपानी, सिङ्गा र बेनी बजार म्याग्दी नदीको तटीय क्षेत्रका बस्ती हुन् ।

धवलागिरि हिमालमा मुहान भएको म्याग्दी नदी बेनी बजारमा आएर कालीगण्डकीमा मिसिन्छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तत्काललाई जोखिम टरे पनि तटीय क्षेत्रका बासिन्दालाई खोला किनारमा नजान र सकर्त रहन अनुरोध गर्नुभएको छ ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले पहिरो खसेको भिरको फेदीमा रहेको बाँसबोटका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने तयारी गरेको बताउनुभयो । बाँसबोटमा पाँच घरपरिवारको बसोबास छ । पहिरोका कारण धवलागिरि गाउँपालिका–४ खिवाङ, बगर र नाउरा जोड्ने सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा स्थानीयवासीका साथै ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी १ र ३७ मेगावाट क्षमताको अपर म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणकार्य प्रभावित भएको छ ।