१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा

यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा
अ अ+ अ-

काठमाडौं, असोज १० । रसुवाको टिमुरेमा गत भदौ १० गते आएको विनाशकारी बाढीका एक जीवित उद्धारकर्ता तेन्जिन लामाले केही मिनेटमै घटेको त्यो विपद्मा मानिसलाई ज्यान जोगाउन समेत पर्याप्त समय नभएको बताएका छन्।

टिमुरेमा लाङटाङ रेस्टुरेन्ट एन्ड होटल सञ्चालन गर्दै आएका लामाले मानिसहरू चिच्याउँदै ‘भागौँ, भागौँ’ भनेको सुनेपछि मात्रै केही असामान्य भएको महसुस गरेको बताए।

‘सामान्यतया नदीमा बाढी आउँदा पानीको सतह विस्तारै बढेको देखिन्थ्यो। तर यसपटक भोटेकोशी नदी पूरै फरक थियो। यस्तो लाग्यो, मानौँ आकाशबाटै नदी बगिरहेको छ। मैले कल्पना नै गर्न सकेको थिइनँ,’ उनले भने।

बाढी आउँदै गर्दा नदीको उत्तरी करिडोर बाक्लो कालो लेदो र माटोले ढाकिएको उनले बताए। बाढीको आवाज र वेग निकै डरलाग्दो रहेको उनको भनाइ छ। उनले त्यसलाई गर्जन वा गोली चलेजस्तो आवाजसँग तुलना गरे।

बाढी आएको केही मिनेटमै टिमुरे बजार प्रभावित भएको थियो। मानिसहरूले प्रतिक्रिया जनाउनसमेत निकै कम समय पाएको लामाले बताए।

‘यसपटक नदीले हामीलाई झुक्यायो। धेरै मानिस केही हुन्छ भन्ने अनुमान नै गर्न नसकेर अलमलमा परे,’ उनले भने।

बाढी होटलतर्फ आइरहेको देखेपछि लामाले एकैछिनमा निर्णय लिएर होटलको झ्यालबाट हाम फाले र उकालोतर्फ घस्रिँदै भागे। अन्ततः उनी करिब २०० मिटर माथि डाँडामा पुगे। त्यहाँबाट उनले तल भइरहेको विनाश आफ्नै आँखाले देखे।

उनका अनुसार बाढीको पानी एउटै दिशामा मात्र बगेन। पानी यताउता फर्किंदै घर तथा अन्य संरचना बगाउँदै गएको थियो।

‘अरूलाई बचाउने सम्भावना नै लगभग थिएन,’ उनले भने।

बाढी आएको भदौ १० गतेको रात लामाले टिमुरेनजिकैको खैजी गाउँमा अन्य उद्धार भएका मानिसहरूसँग बिताए। भोलिपल्ट भदौ ११ गते दिउँसो करिब २ बजे उनीहरूलाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो। त्यसपछि उनीहरूलाई त्रिशूलीस्थित सैनिक ब्यारेकमा लगियो। त्यहाँबाट सार्वजनिक सवारीसाधनमार्फत काठमाडौं आएका थिए।

बाढीका बेला सञ्चार सम्पर्कविहीन भएपछि परिवार निकै चिन्तित भएको उनले बताए। काठमाडौं पुगेपछि मात्रै उनी परिवारसँग पुनर्मिलन भएका थिए।

तर बाढीले उनको जीवनभरको सम्पत्ति भने लगभग समाप्त गरिदिएको छ।

लामाले गत वैशाख/जेठमा करिब १ करोड रुपैयाँ लगानी गरेर सञ्चालनमा ल्याएको पाँचतले लाङटाङ रेस्टुरेन्ट एन्ड होटल गुमाएका छन्। उनले उक्त भवन १० वर्षका लागि भाडामा लिएका थिए। होटलमा करिब १०५ जना बस्न सक्ने क्षमता थियो।

होटल भोटेकोशी नदीको किनारमै नभई टिमुरे बजारको उत्तरी तथा उकालो भागमा नदीभन्दा करिब २०० देखि ३०० मिटर माथि रहेको थियो। त्यसका बाबजुद पनि बाढीले होटललाई पूर्ण रूपमा बगाएको उनले बताए।

उनले एउटा टाटा सुमो जिप र त्यसका चालक पनि गुमाएका छन्। रसुवाको स्याफ्रुबेसीमा रहेको उनको पुर्ख्यौली घरसमेत बाढीले बगाएको छ।

‘मैले सबै कुरा गुमाएँ। अब मेरो नाममा लगभग कुनै सम्पत्ति बाँकी छैन, शून्यजस्तै भयो,’ लामाले भने।

बाढी आउँदा उनकी श्रीमती निबुर तामाङ र तीन छोराछोरी काठमाडौंमै थिए। जेठो छोरा तासी कल्साङ बिरामी भएपछि श्रीमती दुई–तीन दिनअघि नै काठमाडौं आएकी थिइन्।

लामा दम्पतीका १५ र ५ वर्षका दुई छोरा तथा १२ वर्षीया एक छोरी छन्। तीनै जना सुरक्षित छन्।

बाढीबाट होटल, सवारीसाधन र पुर्ख्यौली घरसमेत गुमाएपछि अब जीवन पुनःनिर्माण गर्न निकै कठिन भइरहेको लामाले बताए।