काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कुनैपनि राजनीतिक दलले राष्ट्रद्रोह र राज्यप्रति घृणा फैल्याउने विषयलाई क्षमा दिन नसकिने बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले मुनरो डक्ट्रिनको व्याख्या गर्नुभएको भन्दै यसबारेमा संसदलाई जानकारी गराउनुपर्ने बताउनु भयो । के प्रसंगमा मनरो डक्ट्रिनको व्याख्या नेपालको सन्दर्भलाई जोडेर गर्नुभएको हो ? त्यो कुराको व्याख्या माग गर्नुभयो । नेपाल सार्वभौम सत्ता सम्पन्न मुलुक भएको जिकिर गर्नुभयो ।
सार्वभौम सत्ता सम्पन्न राष्ट्रको विषयमा सदनको सदस्यले यस्तो अभिव्यत्ति दिँदा सरकार किन बेखबर भन्दै प्रश्न गर्नुभयो । सरकारलाई सूचना भए राष्ट्रद्रोहको गम्भीर अपराधमा सरकार किन मौन बसेको भन्दै प्रश्न गर्नुभयो । यसबारेमा छानविन गर्न माग गर्नुभयो । उहाँले रास्वपाका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले र तत्कालीन महामन्त्री डा. मुकुल ढकालले भारतीय राजदुतसँगको भेटमा नेपाल पनि भारतकै स्वायत्तता रुपमा रहेको र गर्दै नेपालले भारतले भनेको मान्नुपर्ने कुरा गरेको राष्ट्रिय टेलिभिजनमै भनेकाले यसबारे पनि गम्भीर बन्न जरुरी रहेको बताउनु भयो ।
प्रमुख सचेतक घिमिरेले भन्नुभयो, ‘के हो मानव बेचबिखन भनेको ? कहाँ भयो मानव बेचबिखन ? जथाभावी सधैँभरी एउटै कुरा बोलिरहेको छ । मानव बेचबिखनको रट लगाइराखेर जुन ढंगले उहाँहरु अघि बढ्नुभएको छ, त्यसबाट उहाँहरुलाई नै पछि फर्किन गाह्रो होला । अहिले माननीय गृहमन्त्रीले एउटा कुरा भन्नुभयो, भिजिट भिसामा सबै मान्छेहरु जान्छन् । स्वयं उहाँहरुकै अध्यक्ष रवि लामिछाने भिजिट भिसामै अमेरिका जानुभएको हो । भिजिट भिसामा अमेरिका गएर नागरिकता लिनुभएको हो । यो माननीय रमेश लेखक गृहमन्त्री भएर चलेको अभ्यास होइन । लामो समयदेखि चल्दै आयो । यो अभ्यास बिल्कुल कानूनसम्मत छैन । ठिक बाटो होइन । तर पनि नेपालमा चल्दै आएको छ । त्यसलाई बहाना बनाएर जुन हिसावले संसद बहिष्कार र लाञ्छित गर्ने काम भइरहेको छ । यो सरासर आपत्तिजनक छ ।’
प्रमुख सचेतक घिमिरेले रास्वपाले वर्तमान संविधान परिवर्तन गर्न चाहन्छ वा हुबहु स्वीकार गर्छ ? यसको जवाफ चाहिने बताउनु भयो ।









