काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंको पुरानो बसपार्कस्थित जग्गामा निर्माणाधीन काठमाडौं भ्यू टावर निर्माणको काम नरोक्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश प्रकाश खरेलको एकल इजलासले ‘अन्तिम निरुपण हुँदा ठहरिए बमोजिम हुने गरी’ निर्माणको काम जारी राख्न निर्माण व्यवसायीलाई अनुमति दिएको हो । काठमाडौं महानगरपालीकाले निर्माण कार्य रोक्का राख्न निर्देशन दिएपछि महानगरको आदेश बिरुद्ध निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स प्रालि अदालत पुगेको थियो ।
निर्माण कम्पनीको रिटमाथि सुनुवाइ गर्दै अदालतले तत्कालको लागि काम नरोक्न अन्तरिम आदेश दिएको हो ।
काठमाडौं भ्यू टावरको निर्माणको ठेक्का जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स प्रालि।ले पाएको थियो । सुरुमा भूमिगत २ तल्ला सहित १२ तल्ला निर्माणको अनुमति दिइएको भ्यू टावरमा पछि तला थप गरी भूमिगत २ तलासहित १९ तले भवन निर्माणको अनुमति दिइएको थियो । यही तला थपेको नक्सा पासको विषयमा महानगर प्रमुख बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईबीच विवाद भएको थियो ।











