३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमताल विस्फोट भएर रसुवामा बाढी आएको हुनसक्ने अनुमान



अ+ अ-

काठमाडौँ । रसुवामा मङ्गलवार आएको बाढीले स्थानीय क्षेत्रमा ठूलो प्रभाव पारेको छ । जल तथा मौसम विज्ञान विभागले यो बाढीको सम्भावित कारण हिमताल विस्फोट हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । विभागकाअनुसार बाढीको प्रकृति सामान्य वर्षातको कारणले भएको नदेखिएको र अन्य सम्भावित कारणहरू पनि हुनसक्ने भएकाले विस्तृत अध्ययन भइरहेको छ ।

तिब्बत क्षेत्रमा रहेका हिमतालहरू र तिनमा देखिएको परिवर्तनलाई लिएर विभागले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग समन्वय गरी भू–उपग्रह तस्वीरहरूको विश्लेषण गरिरहेको बताएको छ ।विभागका मौसमविद् विनोद पराजुलीले बादलले छेकेका कारण तस्बिरहरू स्पष्ट नभएको र यकिन कारण पत्ता लगाउन समय लाग्ने बताउनु भयो । भोटेकोशी र त्रिशुली क्षेत्रमा अहिले बाढीको जलस्तर सामान्य अवस्थामा फर्किएको र तत्काल थप जोखिम नदेखिएको भए पनि सामान्य जोखिम मनसुन भरि कायमै रहेको बताउनु भयो ।

उहाँले  भन्नुभयो “यकिन कारण पत्ता लगाउन जल तथा मौसम विज्ञान विभागले सम्बन्धित राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग समेत समन्वय गरेर काम गरिरहेको छ । तिब्बत क्षेत्रका सम्भावित बाढी सिर्जना भएका स्थानका केही भू–उपग्रहका तस्बिरहरु प्राप्त भएका छन् । तस्बिरहरूमा बादलले छेकेकोले स्पष्ट देखिएको छैन । हामीले यही क्षेत्रबाट अथवा यही तालबाट विपद् वा बाढी सुरु भएको भनेर एकिन गरिसकेको अवस्था छैन तर हामी नजिक पुग्दैछौँ।”

विभागले बाढी भारी वर्षातको कारणले नभएको बताएको छ । हिमनदी क्षेत्रमा हिउँ पग्लिएर बनेका साना तालहरूमा परिवर्तन देखिएको र ती तालहरू नेपालबाट करिव २५ किलोमिटर टाढा तिब्बत क्षेत्रमा रहेको अनुमान गरिएको बताएको छ । उहाँले भन्नुभयो “सम्भावित पहिलो कारण हिमताल विस्फोट नै हुनसक्छ । दुई–तीनवटा तस्बिरहरू जसको हामीले अध्ययन गरिरहेका छौँ । त्यसमा शुप्राग्लासियर लेक भन्छाँै । हिमनदीको क्षेत्रमा हिउँ पग्लिएर विभिन्न साना–साना तालहरू बनेका छन् र ती तालहरूमा केही परिवर्तन देखिएको छ, तिब्बत क्षेत्रमा, ती तालमा देखिएको परिवर्तनको भेरिफिकेसन पनि बाँकी छ।”

मौसमविद् पराजुलीले  बाढीको प्रकृति असामान्य रहेको र  १०–१५ घण्टासम्म एकनासले बाढी आएको जानकारी दिनु भयो । यो पहिलाको प्रकृतिभन्दा फरक रहेको बताउनु भयो । उहाँले भन्नुभयो “बाढीको प्रकृतिबाट हामी पनि द्विविधामा परेका छौँ । यो घटनामा १०–१५ घण्टासम्म एकनासले बाढी आइरहेको छ। यो सामान्य होइन। पहिलाको प्रकृतिभन्दा पृथक देखिएको छ । यो अवस्था हिमताल विस्फोट भएर मात्र हो भन्न नसकिने छ । यसको विस्तृत अध्ययन जरुरी भएको छ।”

विभागले हिमताल विस्फोटलाई मुख्य सम्भावित कारण मानेर अध्ययन गरिरहेको छ । तत्कालका लागि जोखिम घटे पनि सामान्य जोखिम कायमै रहेको विभागको अनुमान छ । छिट्टै विस्तृत जानकारी सार्वजनिक गर्ने विभागले जनाएको छ ।