काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद गंगाकुमारी बेलवासेले राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा आउन नपाउने व्यवस्था गर्न माग गर्नुभएको छ ।
मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले सम्मानित पदमा अभिभावकीय रुपमा रहीसकेपछि पार्टीमा फर्किएर काम गर्ने कुराले त्यति राम्रो नगर्ने बताउनु भयो । त्यसको लागि ठोस व्यवस्था गरेर सम्मानित पदबाट फेरि राजनीतिमा नफर्किने व्यवस्था गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘गणतन्त्रको प्रतिकको रुपमा राष्ट्रपति, उपराष्ट्रपतिलाई पायाँै । हामीले मधेसबाट, महिलाबाट, जनजातिबाट राष्ट्रपति र उपराष्ट्रपति पायाँै । जनताका छोराछोरीहरु राष्ट्रपति बन्ने व्यवस्था ल्यायौँ । उहाँहरु अहिले राजनीतिमा जाने विषयले निकै चर्चा पाएको छ । उहाँहरु राजीनितिक पार्टीमा फर्किएर राजनीति गर्ने विषयले समाज तरंगित भएको छ । जनसमुदायहरुले विभिन्न तर्क, वितर्कहरु गरिरहेका छन् । कतिपय समस्याहरु छन् । एउटा सम्मानित पदमा अभिभावकीय रुपमा रहीसकेपछि पार्टीमा फर्किएर काम गर्ने कुराले त्यति राम्रो गरेको छैन । आइन्दा त्यसको लागि ठोस व्यवस्था गरेर त्यो सम्मानित पदबाट फेरि राजनीतिमा नफर्किने व्यवस्था गर्न आग्रह गर्दछु ।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेमा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रमा सक्रिय राजनीतिमा फर्किसक्नुभएको छ ।









