काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको अर्को बैठक मंगलवारका लागि बोलाइएको छ ।
आईतवार बसेको बैठकमा पार्टीका नेताहरुले बोल्ने क्रम सकिएपछि बैठकको निष्कर्ष र निर्णय सार्वजनिक गर्न मंगलवार बिहान ११ बजेका लागि बैठक बोलाइएको पार्टी उपाध्यक्ष प्रकाश ज्वालाले बताउनु भयो ।
उहाँकाअनुसार आईतवारको बैठकमा पार्टीको तर्फबाट सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता डा. वेदुराम भुसाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरुले समसामयिक राष्ट्रिय राजनीति, संगठन निर्माण लगायतको विषयमा आफ्ना विचारहरु राख्नु भएको छ । उहाँले बैठकमा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाक्रीको विषयमा कुनै छलफल नभएको पनि स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘कुनै व्यक्ति विषेशको बारेमा हाम्रो बैठकमा एजेण्डा बनेको छैन । पार्टी सचिवालयको बैठकमा राष्ट्रिय राजनीति, समसामयिक विषयवस्तुहरुमा, आन्दोलनका विषयमा, संगठनात्मक विषयका एजेण्डाहरु छन् । ती एजेण्डाहरुमा केन्द्रित भएर नेताहरुले आ–आफ्ना धारणाहरु राखेका छन् ।’
उपाध्यक्ष ज्वालाले बैठकमा सरकारको कार्यसम्पादनको विषयमा पनि छलफल भएको बताउनु भयो । उहाँले सरकारसँग जनता अत्यन्त निराश र केही अपेक्षा पनि नराखेको टिप्पणी गर्नुभयो ।










