२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारबाट फर्केर केराखेतीमा जमेका भण्डारी



अ+ अ-

कैलाली । धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक केराखेती गर्दै आउनुभएको छ । उहाँले भण्डारी बहुउद्देश्य कृषिफार्म दर्ता गरी विगत छ वर्षदेखि व्यवसाय गर्दै आउनुभएको छ ।

सोह्र वर्षको कलिलै उमेरमा वैदेशिक रोजगारीका लागि मलेसिया जानुभएका भण्डारी २० वर्षसम्म वैदेशिक रोजगार गरी घर फर्किएपछि केराखेतीमा लाग्नुभएको हो । उहाँले कोराना महामारी फैलिएपछि भएको ‘लकडाउन’ कै बीचमा व्यवसाय सुरु गर्नुभएको हो । “विदेशबाट फर्केएपछि फुर्सदमा घर बसिरहेको थिए, त्यतिबेला नेपालसहित सारा विश्व नै कोभिड–१९ को महामारीमा थियो । उक्त समयमा बजारमा अर्को व्यापार सुरु गर्ने अवस्था थिएन”, भण्डारीले भन्नुभयो, “गाउँमा केही व्यक्तिले केराखेती व्यवसाय गरेका थिए, त्यो देखेर मैले पनि अब केराखेती नै गर्नुपर्छ भन्ने व्यवसाय सुरु गरेको हुँ ।”

उहाँले आफ्नो एक बिघा जमिनमा केराखेती गर्नुभएको छ । त्यसबाट वार्षिक रु १५ लाख बराबर केराको कारोबार हुने र रु १० लाख जति फाइदा हुने गरेको भण्डारीले सुनाउनुभयो । उहाँले उत्पादित केरा बिक्रीका लागि धनगढी र नजिकैको स्थानीय बजारमा बिक्री गर्ने गरेको बताउनुभयो ।

कृषक भण्डारीको परिवारमा आमा, श्रीमती, छोराछोरी गरी पाँच जना छन् । उहाँले परिवारको लालनपालन, छोराछोरीको शिक्षादीक्षालगायत सम्पूर्ण खर्च सोही व्यवसायबाट धान्दै आउनुभएको छ ।

हिजोआज धेरैजसो व्यक्तिहरू कमाउनका लागि विदेश पलायन भइरहेका बेला भण्डारी भने विदेशको मोह त्यागेर आफ्नो ठाउँ र परिवारसँगै बसेर व्यवसाय गरिरहनुभएको छ । “गर्न जान्यो भने आफ्नै देशमा पनि केही हुन्छ भन्ने उदाहरण दिइरहेको छु । पाँच जनाको परिवारको खर्च यसैबाट टरेको छ”, उहाँले भन्नुभयो, “सबैभन्दा ठूलो कुरा आफ्नै देशमा घरपरिवार, समाज र साथीभाइसँगै बसेर रमाउन र कमाउन पाइएको छ । यो नै खुसीको कुरा हो ।”

भण्डारीको बसोबास क्षेत्र अर्थात् वडा नं १४ मा हिजोआज १० जना जति कृषकले केराखेती गरिरहेका छन् । यसको विकास र बिस्तारका लागि सरकारले अनुदानका साथै समयमै मलखाद र बीउबिजन सहुलियत मूल्यमा उपलब्ध गराई दिए धेरै सहज हुने उहाँको भनाइ छ । रासस