काठमाडौँ । नेकपा एमाले सांसद वासुदेव घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लागेको बताउनुभएको छ ।
बुधवारको समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कुलिङ पिरियडमा भएको चलखेलका कारण सांसदहरुलाई आम नागरिकले गिज्याइरहेको बताउनु भयो ।
उहाँले कुलिङ पिरियडमा दुई वर्ष हुनु हुँदैन भनेर भैलो खेल्न गएकाहरु पनि यसको छानविनको दायरामा आउने बताउनु भयो । उहाँले यो घटना सामान्य नभएको बताउँदै सिंगो सदनको अवहेलना भएको बताउनु भयो । सांसद घिमिरेले अधिकार सम्पन्न छानविन समिति निर्माण गरेर दोषीउपर कारबाही गर्नुपर्ने माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य हौँ भन्न पनि लाज लाग्न थाल्यो । नागरिकबाट यति धेरै गालीको वर्षा भएको छ, यो सामान्य खालको घटना होइन । समितिको मात्र होइन, सिंगो संसदको अवहेलनाको काम गर्नुभएको छ ।’
सांसद घिमिरेले आम नागरिकले सांसदहरुले छलकपट गरेर ऐन पारित गरेको भन्दै आफूहरुको बेइज्जत गरिएको बताउनु भयो ।










