काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरण छानविनको लागि संसदीय समिति नै बन्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो माग गर्नुभएको हो । उहाँले भिजिट भिसा प्रकरण आजको विषयमात्रै नभएकाले उल्लेख गर्दै जरोदेखि टुप्पोसम्मका सबैको छानविन गर्नुपर्ने बताउनु भयो ।
उहाँले यस मुद्दालाई कुनै दल विशेषको एजेण्डा नबनाएर सबैले साझा एजेण्डाको रुपमा अगाडि लैजानुपर्ने बताउनु भयो । भिजिट भिसा प्रकरणको विषयमा भइरहेको आरोप प्रत्यारोपलाई आम नागरिकले गम्भिर रुपमा हेरिरहेको उल्लेख गर्दै सच्चिन जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ । संसदमा त एकअर्काप्रति आरोपप्रत्यारोप गरौँला तर नेपाली जनताले चाँही के भन्छन् ? आज दुवई, कतारतिर जानुस् त त्यहाँ नेपाली दिदिबहिनीहरुलाई बन्धक बनाइएको छ । ७५ हजारभन्दा धेरैलाई आज दुवईमा बन्धक बनाइएको छ । आज हामीले उनीहरुको चित्कार सुन्नुपर्छ कि पर्दैन ? आज भिजिट भिसा प्रकरणको जरोदेखि टुप्पोसम्म छानविन हुनुपर्छ कि पर्दैन ? ती व्यक्तिहरु मन्त्री, प्रधानमन्त्री जो भएपनि कारबारही गर्नुपर्छ कि पर्दैन । त्यसकारण सबै एकठाउँमा उभिएर भिजिट भिसा प्रकरणको छानविन गर्न संसदीय छानविन समिति बनाऔँ ।’
उहाँले सरकारले संसदमा संख्याको आधारमा हेप्ने र दम्भ देखाउने काम गरिरहेको समेत आरोप लगाउनु भयो ।










