काठमाडौं । सिन्धुपाल्चोकमा एक बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । भोटेकोशी गाउँपालिका–५ की १२ वर्षीया निशा तामाङको हत्या भएको हो ।
बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालिकाकै गाउँका आफन्त नाता पर्ने व्यक्तिहरु समेत रहेका छन् ।
हत्या आरोपीहरुलाई शुक्रबार सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए ।
१० असारमा बालिकालाई घरबाट लगेर पाँच जनाको समूहले बलात्कारपछि हत्या गरेको पाइएको एसपी कार्कीले बताए । बालिकाको शव नांगो अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
घटनाबारे विस्तृत अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।










