१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कर्णालीमा हिमालय आँखा अस्पतालको सेवा विस्तार, एक वर्षमा १७ हजारलाई सेवा

कर्णालीमा हिमालय आँखा अस्पतालको सेवा विस्तार, एक वर्षमा १७ हजारलाई सेवा
अ अ+ अ-

काठमाडौं । कर्णाली प्रदेशका विभिन्न जिल्लामा ९५३ जनाको निःशुल्क आँखाको शल्यक्रिया सेवा गरिएको छ ।

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखराले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका अति दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका समुदायमा सञ्चालन गरेका निःशुल्क आँखा शिविरमार्फत उक्त सेवा प्रदान गरेको हो ।

अस्पतालका बाह्य कार्यक्रम प्रमुख नेत्र अधिकृत सुवास नेपालका अनुसार गत आवमा अस्पतालले सो प्रदेशका १७ हजारभन्दा बढी नागरिकलाई आँखा उपचार सेवा प्रदान गरेको छ ।

सो अवधिमा बाह्य कार्यक्रममार्फत सात हजार २१७ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो भने अस्पतालअन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रहरूमार्फत १० हजार ४३२ जनाले आँखा उपचार सेवा प्राप्त गरेका अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसरी बाह्य कार्यक्रम र आँखा उपचार केन्द्रमार्फत गरी कर्णाली प्रदेशमा एक वर्षमा १७ हजार ६४९ जनालाई आँखा स्वास्थ्य सेवा प्रदान गरिएको छ । हिमालय आँखा अस्पतालअन्तर्गत कर्णाली प्रदेशका चन्दननाथ आँखा अस्पताल खलङ्गा–जुम्ला, मान्म–कालीकोट, सिमकोट–हुम्ला, सिंजा–जुम्ला र गमगढी–मुगुमा आँखा उपचार केन्द्र सञ्चालनमा छन् ।

यी अस्पताल, उपचार केन्द्र तथा समुदायस्तरमा सञ्चालन गरिने बाह्य कार्यक्रम र शिविरमार्फत भौगोलिक रूपमा विकट क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आँखा परीक्षण, उपचार, आवश्यक परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध गराइँदै आएको छ ।

अस्पतालको प्रमुख मेडिकल निर्देशक डा बबिता गुरुङका अनुसार अस्पतालले गत आर्थिक वर्षमा अस्पतालको बहिरङ्ग विभागमार्फत मात्रै एक लाख ८८ हजार ९१४ जनालाई आँखा उपचार सेवा प्रदान गरेको छ । विज्ञप्तिका अनुसार सेवा लिनेमा एक लाख छ हजार ४५९ महिला र ८२ हजार ४९८ पुरुष छन् । कूल सेवाग्राहीमध्ये करिब ५६ प्रतिशत महिला र ४४ प्रतिशत पुरुष छन् ।

हिमालय आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रथापा मगरले कर्णाली प्रदेशमा विशेषज्ञ आँखा उपचार सेवालाई थप विस्तार र सुदृढ गर्ने योजना अघि बढाएको जानकारी दिनुभयो ।

वरिष्ठ अधिवक्ता समेत रहनुभएका मगरले भन्नुभयो, “जुम्लामा नेत्र विशेषज्ञमार्फत नियमित विशेषज्ञ सेवा उपलब्ध गराउने तथा कर्णालीका अन्य तीन जिल्लामा ‘सर्जिकल सेन्टर’का रूपमा सेवा विकास गरी स्थानीयस्तरमै आँखाको शल्यक्रिया सेवा उपलब्ध गराउने योजना रहेको छ । भौगोलिक विकटता र यातायातको कठिनाइका कारण सामान्य आँखा उपचार तथा शल्यक्रियाका लागि समेत टाढासम्म जानुपर्ने बाध्यतालाई कम गर्न विशेषज्ञ तथा शल्यक्रिया सेवालाई जिल्लास्तरसम्म विस्तार गर्न लागिएको छ ।”

यसबाट दुर्गम क्षेत्रका नागरिकले आफ्नै जिल्लामा वा नजिकको सेवा केन्द्रबाट समयमै गुणस्तरीय आँखा उपचार तथा शल्यक्रिया सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ । यसैबीच, नेपाल नेत्रज्योति सङ्घ हिमालय आँखा अस्पतालअन्तर्गत गण्डकी तथा कर्णाली प्रदेशमा सञ्चालित आँखा अस्पताल तथा आँखा उपचार केन्द्रको वार्षिक कार्ययोजना तथा समीक्षा गोष्ठी पोखरामा हालै सम्पन्न भएको छ ।

कार्यक्रममा ती प्रदेशका आँखा अस्पताल तथा आँखा उपचार केन्द्रका प्रतिनिधि, नेत्र विशेषज्ञ, स्वास्थ्यकर्मी तथा सरोकारवालाको सहभागिता थियो । सो अवसरमा हिमालय आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता मगर, नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द, नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश सभापति प्रा डा दिलबहादुर क्षेत्री र सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले सङ्घको गतिविधि तथा कार्ययोजनाका बारेमा प्रस्तुति गर्नुभएको थियो ।

हिमालय आँखा अस्पतालले अस्पतालमा आधारित सेवासँगै आँखा उपचार केन्द्र, बाह्य कार्यक्रम तथा निःशुल्क आँखा शिविरमार्फत गण्डकी र कर्णाली प्रदेशका नागरिकलाई आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । विशेषगरी कर्णालीका दुर्गम जिल्लामा विशेषज्ञ तथा शल्यक्रिया सेवा विस्तार गरी नागरिकलाई उनीहरूको नजिकै गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने लक्ष्यसहित अस्पतालले आगामी कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

सन् २०२५ मा पाँच करोड दुई लाख ४८९ जनालाई आँखा उपचार सेवा सङ्घका अनुसार सङ्घले स्थापनादेखि सन् २०२५ को अन्तिमसम्ममा सङ्घको २८ आँखा अस्पताल, ४४ जिल्ला शाखा, २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल पाँच करोड दुई लाख ४८९ जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।रासस