२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्षले बहिष्कार गरेपछि उपाध्यक्षको नेतृत्वमा बजेट पारित



अ+ अ-

भद्रपुर । झापाको हल्दिबारी गाउँपालिकामा अध्यक्षले गाउँसभा बहिष्कार गरेपछि उपाध्यक्षको नेतृत्वमा बजेट र नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले आज पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७७/०७८ का लागि रु २९ करोड ६४ लाख ७३ हजारको वार्षिक बजेट पारित भएको जानकारी दिनुभयो ।

उहाँले यही असार १० गते गाउँपालिकाको सभाहलमा सातौं गाउँसभा शुरु भएलगत्तै अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन सभा छाडेर बाहिरिनुभएपछि गाउँसभा तथा नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा १६ को उपदफा ५ बमोजिम आफूले सभाको अध्यक्षता गरेको बताउनुभयो । उपाध्यक्षकै अध्यक्षतामा सञ्चालित सो सभाले गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम बहुमतका आधारमा पारित गरेको थियो ।

गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले सभा चलिरहेका अवस्थामा अध्यक्षले सभा छाडेर हिँडेमा उपाध्यक्षले स्वतः अध्यक्षता गर्ने कानूनी व्यवस्था रहेको जनाउँदै सोही अधिकार प्रयोग गरी उपाध्यक्ष गिरीको नेतृत्वमा बजेट र नीति तथा कार्यक्रम पारित गर्नुपरेको बताउनुभयो ।  गाउँकार्यपालिकाले वडागत बजेट वितरणमा बहुमतका आधारमा पेलेर समानुपातिक नीति नअपनाएको र जलथल पर्यटकीय सडकको नामकरणमा कम्युनिस्ट नेता द्रोणप्रसाद आचार्यको नाम राखेका विषयमा अध्यक्ष लिङ्देनले असहमति राख्दै आउनुभएको थियो । सोही कारण सभामा नेकपा पक्षबाट हातपात भएको जिकिर गर्दै अध्यक्ष लिङ्देनले सभाबाट बाहिरिनुपरेको बताउँदै आउनु भएको छ ।

 गाउँपालिकाका उपाध्यक्ष गिरीले सभामा अध्यक्षमाथि कसैबाट हातपात नभएको र उहाँ आफैँले कार्यकर्तालाई बोलाई सभाकक्षमा तोडफोड गराउनु भएको आरोप लगाउनुभयो ।  हल्दिबारी गाउँपालिकामा अध्यक्षमा लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तथा  उपाध्यक्ष गिरी तत्कालीन नेकपा ९एमाले०का तर्फबाट निर्वाचित हुनुभएको थियो । पालिकाको कूल २९ सदस्यीय गाउँपरिषद्मा २२ जना नेकपा, ६ जना राप्रपा र एक जना नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्नुहुन्छ । परिषद्मा नेकपाको दुई तिहाइ बहुमत छ ।