काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नक्सा छापेकै भरमा आफूलाई हटाउन षडयन्त्र भइरहेको बताएका छन्।
मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आईतवार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हटाउन खोज्ने चारतिर भए पनि आफूले तत्काल कुर्सी नछोड्ने बताएका हुन्।
“मलाई प्रधानमन्त्रीको कुर्सीमा बसिरहने मन छैन, तर आजको लागि होइन भोलिका लागि, आफ्ना लागि होइन देशका लागि बसेको छु,” प्रधानमन्त्रीले अगाडि भने, “म हटे भने भोलि देशको पक्षमा कोही बोल्यो भने भोलिपल्टै हट्नुपर्नेछ।”
कुर्सीमा बसेरै मिचिएको भूमि फिर्ता ल्याउने प्रधानमन्त्रीले प्रतिबद्धता जनाए।
नेकपा अध्यक्षसमेत रहेका ओलीले भने, “जनताको शासन बनाउन मदन भण्डारी लड्नुभएको थियो, अहिले हामीले त्यो प्राप्त गरेका छौं।”
ओलीले मदन भण्डारीले समानता र लोकतन्त्रका लागि लडेको भन्दै उनको योगदानको प्रशंसा पनि गरे।