२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुठीका जग्गामा सरकारले हस्तक्षेप नगर्ने तर अतिक्रमित जग्गाको संरक्षण गर्ने : मन्त्री अर्याल



अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले मन्त्रालयमा आएदेखि भूमि समस्या बाहेकका विषयमा छलफल गर्न नपाएको गुनासो गर्नुभएको छ । 

संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा भूमिको समस्या बाहेकका विषयमा एकदिन पनि छलफल गर्न नपाएको गुनासो मन्त्री अर्यालले गर्नुभयो । उहाँले भूमिको सन्दर्भमा अहिले सम्म धेरै नै बिगारिएको र बेथिति ल्याइएको भन्दै त्यसलाई सुधार्न आफु लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘सरकारी सार्वजनिक जग्गाको हाल त्यस्तै छ । मालपोत नापि सित जोडिएका कुराहरु त्यस्तै छ । म त एकदम समस्यै समस्याको चाङमा बेथितिको भुमरोमा कति सुधार्न सकिन्छ सुधार्ने कोसिसमा छु । समस्या बाहेक कहिल्यै छलफल गर्नै पाइन । जतिखेरपनि समस्या बाहेक कुनै दिन हेर्ने हो भने आज त यसो गर्यौं नि भन्ने कुरै छैन । त्यस्ता खालका असजिलो नआउन । धेरै बिगारीसकेको, धेरै बेथिति आइसकेको ठाउँ रहेछ ।’

मन्त्री अर्यालले गुठी जग्गाको सन्दर्भमा पनि धेरै नै विवादहरु रहेको र त्यसलाई कानून निर्माण नगरिकन व्यवस्थित गर्न नसकिने स्पस्ट पार्नुभयो । सरकारले एकीकृत कानून निर्माणका लागि समिति गठन गरेर अध्ययन गरिराखेको र गुठीयारहरुको भावनालाई समेटेर नै कानून आउने स्पस्ट पार्नुभयो । उहाँले सरकारी सार्वजनिक जग्गामा जस्तै गुठीका जग्गामा सरकारले हस्तक्षेप नगर्ने तर अतिक्रमित जग्गाको संरक्षण गर्ने बताउनुभयो । अतिक्रमणमा परेका गुठीका जग्गालाई फिर्ता गर्ने कामको सुरुवात मन्त्रालयले गरेको जानकारी समेत मन्त्री अर्यालले दिनुभयो । उहाँले गुठीका जग्गासँग जोडिएका मोही र किसानहरुको स्वामित्व स्थापित गर्ने गरी गुठी ऐन ल्याइएको तर अगाडि बढाउन नसकिएको समेत बताउनभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय र गुठी संस्थानबीच पनि विवाद हुने गरेको मन्त्री अर्यालले बताउनुभयो । उहाँले मन्त्रालयले गुठी संस्थानको स्वीकृति बिना नै जग्गाको प्रयोग गर्दा विवाद उत्पन्न भएको जानकारी दिनुभयो । कतिपय विवादमा मन्त्रीहरु नै बसेर छलफल गरी विवाद टुङ्ग्याउनु परेको अवस्था रहेको समेत उहाँले बताउनुभयो बैठकमा सांसदहरुले विभिन्न गुठीका जग्गाको अतिक्रमण भएको र ति जग्गालाई फिर्ता ल्याउन मन्त्रालयले गरेको कामकारबाहीको विषयमा जानकारी मागेका थिए ।