२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब बाहिरी जिल्लाबाट उपत्यकामा आउन पाइने



अ+ अ-

काठमाडौं । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता सहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित उपत्यका भित्रिन दिने निर्णय सीसीएमसीले गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार १४ दिन होम क्वारेन्टिनमा बस्नेगरी स्थानीय तह र प्रहरीको सिफारिस लिएर आउन दिने निर्णय सीसीएमसीले गरेको हो । हवाई तथा स्थलमार्गबाट आउने सबैमा सो निर्णय लागु हुने उहाँले बताउनुभयो । 

सीसीएमसीले क्वारेन्टिनहरुमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ । यस्तै विमानस्थलका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रतिव्यक्ति २ जोरका दरले वितरण गर्ने पनि निर्णय गरेको छ । 

यस्तै आमा र बच्चा नेपाली नागरिकताधारी र बुबा विदेशी पासपोर्ट भएकाहरुको भिसा सहजिकरणका लागि निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरिएको छ । आन्तरिक उडान सञ्चालन र लक डाउनका विषयमा आज बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्न सक्ने उहाँले बताउनुभयो ।