२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण



अ+ अ-

काठमाडौँ। ललितपुरको भैसीपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको छ ।

आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको कलेजो प्रत्यारोपण सर्जन डा रामबाबु साहले जानकारी दिनुभयो ।

अस्पतालले पोखरा निवासी ५६ वर्षीया इश्वरबहादुर कार्कीको कलेजो प्रत्यारोपण गरिएको हो । उहाँलाई उहाँका २६ वर्षीय छोरा आयुष कार्कीले कलेजो दान गर्नुभएको थियो । भारतको  परोपकारी अस्पताल अमृता अस्पतालसँगको सहकार्यमा अस्पतालले यही जेठ ८ गते कलेजो प्रत्यारोपण सफलतापूर्वक गरेको हो । कलेजो प्रत्यारोपण सर्जन डा साहले कलेजो प्रत्यारोपण गर्न झण्डै १३ घण्टा लागेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा उपेन्द्र महतोले अस्पतालसँग मल्टिडिसिप्लिनरी टोली भएका कारण कलेजो जस्तो जटिल शल्यक्रिया सम्भव भएको बताउनुभयो । “हामीले नेपालीहरु उपचारका लागि विदेश जान नपरुन् भन्ने उद्देश्यले कलेजो प्रत्यारोपण सेवा सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “अस्पतालको जनशक्तिलाई नै बलियो बनाई जस्तोसुकै जटिल स्वास्थ्य समस्यामा पनि सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने कोसिसमा रहेका छौँ ।” उहाँले नेपाललाई स्वास्थ्यको ‘हब’ बनाउनका अस्पतालले विदेशका नागरिकको पनि उपचार गरिरहेको जानकारी दिनुभयो ।

कलेजो दाता आयुषले अङ्गदान गरेर बुवालाई बचाएको भन्दै सवैलाई अङ्गदान गर्न आग्रह गर्नुभयो । उहाँले उपचारका लागि दुईपटक भारत गएको तर त्यहाँको उपचार सेवा भरपर्दो नभएपछि मेडिसिटी अस्पतालमा आएर उपचार गरेको बताउनुभयो ।

अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट प्रा डा उमिदकुमार श्रेष्ठका बिरामीको कलेजो तथा मिर्गौला दुवै बिग्रिसकेकाले कलेजो प्रत्यारोपण गरिएको बताउनुभयो । उहाँले बिरामीको कलेजोकै कारण मिर्गौला खराब भएकाले हाल बिरामीको मिर्गौलामा पनि सुधार भइरहेको बताउनुभयो ।

अस्पतालले कलेजो प्रत्यारोपणसँगै विभिन्न अङ्गको पनि प्रत्यारोपण गर्दै आइरहेको छ । अस्पतालमा हालसम्म ४५ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भइसकेको छ भने ५०० जनाभन्दा बढीको हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको छ । रासस