काठमाडौँ । कीर्तिपुरमा जारी नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनको नेतृत्व चयन प्रक्रियामा ढिलाई भएको छ ।
स्रोतका अनुसार उम्मेदवारी दर्ता भएपनि अझैपनि सर्वसम्मतिको प्रयासका लागि निर्वाचन प्रक्रिया अगाडि नबढाइएको हो ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका प्रकाश पौडेल र सुजन कडरिया दुवैले आ–आफ्नो दाबी छोडेका छैनन् ।
अध्यक्ष मण्डलले कडरियाको नेतृत्वमा हिजो साँझ केही पदाधिकारी प्रस्ताव गरेको थियो । उपाध्यक्षमा प्रकाश पौडेल, अञ्जना सिवाकोटीलाई महिला उपाध्यक्ष र दीपक धामीलाई महासचिवमा प्रस्ताव गरिएको थियो ।
तर, उक्त प्रस्तावप्रति असहमति जनाउँदै निर्वाचनको मागसहित हलमा नाराबाजी भयो । यसपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो ।
यसैबीच, कडरियाको पक्षमा उपाध्यक्ष र महासचिवको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट सार्वजनिक गरिएकाले पौडेलले पनि आफ्नो प्यानल बनाएर निर्वाचनमा होमिँदै छन् ।
पौडेलको प्यानलबाट महासचिवमा आरके रोमश छन् । यस्तै, उपमहाचिवमा कमल जोशी छन् । उनको प्यानलबाट अन्य पदको पनि टुंगो लगाउने प्रयास जारी छ ।









