२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यसूचीमा प्रवेश नगरी सक्कियो नेकपा स्थायी समितिको बैठक



अ+ अ-

काठमाडौं । मदन जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिका कारण नेकपाको स्थायी समिति बैठक निर्धारित कार्यसूचीमा प्रवेश छलफल नगरी सकिएको छ ।

सरकार हटाउन भारत लागिपरेको र पार्टीकै नेताहरुको संलग्नता रहेको भन्दै प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएपछि मंगलबार स्थायी समिति सोही विषयमा केन्द्रित भएको थियो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमालेको नाममा दल दर्ताका लागि परेको निवेदनको विषयमा छलफल भएको बताउनुभयो ।

बैठकमा आज सीमा समस्या सम्बन्धी छलफल सकाएर कोभिड—१९ को विषयमा कार्यसूची रहेपनि छलफल हुन नसकेको उहाँले बताउनुभयो ।

‘‘सीमा समस्या सम्बन्धी बोल्न बाँकी सदस्यहरुले बोल्ने र कोभिड—१९ को विषयमा छलफल गर्ने समझदारी बनेको थियो । तर यो बीचमा अन्य विषयमा पनि पार्टीमा छलफल गर्नुपर्ने आवश्यकता महशुस गरेर स्थायी समितिले मदन जयन्तीका अवसरमा प्रधानमन्त्रीले सरकार हटाउन खोजेको, भारतसँग सम्बन्धित विषय र पार्टीका नेताहरुको संलग्नताको पनि चर्चा भएको सन्दर्भमा स्पष्ट हुनुपर्ने भएकाले छलफल आवश्यक रहेको थियो ।’’

उहाँले भन्नुभयो, ‘‘अर्को विषय २ दिन अगाडी निर्वाचन आयोगमा नेकपा एमाले नाम गरेको पार्टी दर्ताका लागि आवेदन परेको कुराको सन्दर्भमा पार्टीको कुनै नेता कार्यकर्ताको संलग्नता छ छैन भन्ने विषयमा स्पष्ट हुन छलफल भयो ।’’’

बैठकमा प्रधानमन्त्री ओलीले आफुले दिएको अभिव्यक्तिका विषयमा प्रष्ट पार्नुभएको उहाँले बताउनुभयो । दल दर्ताको विषयमा प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै श्रेष्ठले भन्नुभयो, ‘म यहि पार्टीको अध्यक्ष भएकाले मेरो पार्टी यहि हो ।’

मंगलबारको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ र भीम रावल लगायत १८ जना नेताहरुले आफ्नो धारणा राखेका थिए ।

अर्को बैठक बुधबारका लागि बोलाइएको छ ।