
काठमाडौं । काठमाडौँ– पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले आज जुम्लाको ऐतिहासिक चन्दननाथ मन्दिरको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ ।
हिमानी ट्रष्टको कार्यक्रममा केही दिनयता जुम्लामा रहनुभएका पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयेन्द्रले आज चन्दननाथ मन्दिरमा पुगेर पूजा अर्चना गर्नुभएको हो ।
जुम्लाको खलंगास्थित चन्दननाथ जुम्लाकै प्रसिद्ध मन्दिर हो । यस मन्दिरलाई दत्तात्रय मन्दिर पनि भनिन्छ । यो मन्दिरमा पूजाआजा नगरे देशमा अनिष्ट हुन्छ भन्ने भनाइ छ ।
करिब दशौँ शताब्दी तिर भारतको कस्मिरबाट चन्दननाथ नाम गरेका महात्मा जुम्ला घुम्न आएका थिए । जुम्लाका तत्कालिन खस राजा कल्याल वंशी ठकुरीले उनलाई गुरु मानेर यतै बसालेका थिए । चन्दननाथ दत्तात्रय भगवानका भक्त थिए । उनी जुम्लामा दत्तात्रय मन्दिर स्थापना गरेर बस्न थाले । चन्दननाथले स्थापना गरेको मन्दिर भएकोले यस मन्दिरको नाम पनि चन्दननाथ मन्दिर रहन गयो । चन्दननाथले त्यहाँ एक भैरवनाथ मन्दिर पनि स्थापना गरेका थिए । चन्दननाथले कश्मिरबाट जुम्लाको प्रशिद्ध मार्सी धानको बिउ ल्याएका थिए ।