२९ जेष्ठ २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महको गुणस्तर वृद्धिमा जोड



अ+ अ-

काठमाडौँ। मुलुकभित्र महको गुणस्तर र उत्पादन वृद्धि गर्दै जानुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।

काठमाडौँको भृकुटीमण्डपमा भएको छैटौँ राष्ट्रिय मह मेलाका अवसरमा आज आयोजित ‘नेपालमा महको गुणस्तरको अवस्था, राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारीकरणको सम्भावना, चुनौती र अवसर’ विषयका परिसंवादमा सहभागी सरकारी अधिकारी, मौरी विज्ञ, मह व्यवसायी र मह उत्पादक किसानले महको गुणस्तर र उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपाल मौरीपालक महासङ्घका अध्यक्ष एवं मह मेलाका संयोजक सुवासचन्द्र घिमिरेले दीर्घकालीन सोचका साथ महको गुणस्तर वृद्धि गरी बजारीकरणका लागि सरोकार भएका निकाय, स्थानीय सरकार र किसानबीच सहकार्य र समन्वय आवश्यक पर्ने बताउनुभयो ।

केही वर्षअघि बजार खस्कन थालेपछि गुणस्तरीय मह उत्पादनका लागि किसानलाई तालिम दिइएको बताउँदै उहाँले मौरीमा प्रयोग हुने ‘सल्फर’लाई प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो । उहाँले सुरुमा मह राख्न प्लास्टिकका जार प्रयोग हुने गरेकामा उन्नत भाँडा र स्टिलका चक्कु र जाली प्रयोग गर्न थालिएको बताउनुभयो ।

बजारमा जानका लागि गुणस्तर आवश्यक पर्ने भएकाले सरोकार भएका सङ्घसंस्थाको पहलमा असल मौरीपालन अभ्यास कार्यान्वयन निर्देशिका निर्माण गरिएको जनाउँदै महासङ्घका अध्यक्ष घिमिरेले उक्त निर्देशिका यथाशीघ्र कार्यान्वयनको चरणमा जाने बताउनुभयो ।

उहाँले भन्नुभयो, “किसान पनि अहिले प्राविधिक ज्ञानसहित मौरी पालनमा सचेत भएका छन् । गुणस्तरीय मह बनाइएन भने बिक्री हुँदैन भनेर सोही अनुसार उत्पादनमा केन्द्रित छन् । मह काड्ने बेला भयो÷भएन भनेर छलफल गरिएको छ, त्यसैले गुणस्तर वृद्धिमा जोड दिइएको छ ।”

मौरीविज्ञ जगदिशभक्त श्रेष्ठ मानिसले जथाभाबी चलायो वा हात लगायो भने मह बिग्रने तर प्राकृतिक रूपमा बनेको खण्डमा नबिग्रिने बताउनुभयो । उहाँले भन्नुभयो, “मौरीले मह उत्पादन गर्ने प्रक्रियाको सुरुदेखि उपभोक्ताको घरमा पुग्दासम्म हामीले कस्ता क्रियाकलाप गरिरहेका छौँ भन्ने कुराले मह कति गुणस्तरीय छ भनेर निर्धारण हुन्छ ।”

नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेडका पूर्वअध्यक्ष अर्जुन पोखरेलले मौरीको मापदण्ड असल अभ्यास निर्देशिकामा रहेको जानकारी गराउँदै गुणस्तरीय मह उत्पादनमा बढी जोड दिन किसानलाई आग्रह गर्नुभयो ।

“अन्तरराष्ट्रिय तहमा महको बजारीकरणका लागि अब नेपाली किसान पनि तयार हुनुपर्छ, त्यसतर्फ सबैले ध्यान दिऔँ । त्यसमा सरकारले पनि महत्त्वपूर्ण र अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्छ”, उहाँले भन्नुभयो । मह व्यवसायी गणेश घिमिरेले नेपालमा फूलको विविधता भएकाले पनि त्यही अनुसारको मह उत्पादन हुने गरेको र विदेशमा माग रहेको बताउनुभयो ।

सर्लाहीका मौरीपालक किसान हेमराज देवकोटा नेपालका मौरीमा सुलसुले फैलिएको र यसले मौरी नष्ट पार्नसक्नेतर्फ भन्दै सरोकार भएकालाई ध्यानाकर्षण गराउनुभयो । उहाँले गुणस्तरीय मह उत्पादन गरेपछि बजार सुनिश्चित हुनुपर्नेमा जोड दिँदै आगामी दिन उत्पादन वृद्धि गर्न सकिने धारणा राख्नुभयो ।

नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेडका उपाध्यक्ष कृष्णहरी जम्मकट्टेलले नेपाली उत्पादनको लागत कति भनेर अहिलेसम्म भन्न नसक्नु विडम्बना भएको बताउनुभयो । राज्यले मूल्यसमेत निर्धारण गर्न नसक्दा समस्या भइरहेको उहाँको भनाइ छ ।

नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले पछिल्लो समयमा मापदण्ड लागू गरेर महको गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । “किसानलाई बरु अनुदान नदिए हुन्छ । अन्य सुविधा दिने र महको बजारीकरण गरेमा किसानले उतपादन वृद्धि गर्नेछन्”, उहाँले भन्नुभयो ।

व्यावसायिक किट विकास केन्द्रकी प्रमुख डा सावित्री बरालले महको मूल्य तोक्ने प्रयास गरिएको भन्दै किसानबाट तथ्यमा आधारित लागत प्रतिवेदन तथा विवरण नआउँदा समस्या परिरहेको बताउनुभयो ।

उहाँले बाहिरबाट भन्सार प्रक्रिया पूरा नभई मह आयात भइरहेको भन्ने विषयमा तथ्य र प्रमाणसहित जानकारी दिन अनुरोध गर्नुभयो । मिसावट गरेर मह बिक्री भइरहेकोतर्फ उहाँले किसानहरूको ध्यानाकर्षणसमेत गराउनुभयो । तीन दिनसम्म सञ्चालन गरिएको छैटौँ राष्ट्रिय मह मेला आज समापन भएको हो । रासस