२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिम नवलपरासीमा रोपाइँ सुरु



अ+ अ-

नवलपरासी। मनसुन सक्रिय बनेसँगै पश्चिम नवलपरासीमा जेठको दोस्रो सातादेखि धान रोपाइँ सुरु भएको छ ।

गत वर्ष नहरमा पानी नआउँदा, ढिला वर्षा हुँदा समयमा धान रोप्न नपाएका कृषकले यस वर्ष जेठको दोस्रो सातादेखि रोपाइँ सुरु गरेका कृषि ज्ञान केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले बताउनुभयो । उहाँका अनुसार रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिकाभित्रका कृषकले रोपाइँ सुरु गरेका छन् ।

यस वर्ष समयमा मनसुन भित्रिएसँगै नहरमा पानी आएपछि ढिलो रोपाइँ मजदुर नपाउने समस्या हुने भन्दै जेठमै रोप्न सुरु गरिएको पाल्हीनन्दन–४ का रामसिंह कुर्मीले बताउनुभयो ।

नवलपरासीमा २० हजार चार सय ८० हेक्टर क्षेत्रफलमा किसानले बर्खे धान रोपाइँ गरिरहेका केन्द्रका प्रमुख डा चौबेले जानकारी दिनुभयो । उहाँका अनुसार खाल्टो खेतमा साभा, गोल्डेन र समथर खेतमा हर्दिनाथ, गोरखनाथ, सम्पुर्ना, शारदा, देवी, प्रशन्ना, हाईब्रिडलगायत जातका धान लगाउने गरिएको छ ।

गत वर्षको तथ्याङ्कअनुसार जिल्लामा ९१ हजार चार सय ७१ मेट्रिकटन धान उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी उमाशङ्कर पौडेलले जानकारी दिनुभयो । धान खेती हुनेमध्ये ७७ प्रतिशत क्षेत्रमा सिँचाइको प्रबन्ध रहेकाले उत्पादन प्रशस्त हुने गरेको उहाँको भनाइ छ ।

“रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका, सरावल गाउँपालिका, बर्दघाट नगरपालिका, सुनवल नगरपालिकामा बढी मात्रामा धानखेती हुन्छ । प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका धानभन्दा केरा, बदाम उत्पादन हुने क्षेत्र हुन्”, उहाँले भन्नुभयो ।  रासस